ओखलढुंगाको मोलुङ गाउँपालिकाले विद्यार्थीको प्रतिभा पहिचान गर्ने भएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको अतिरिक्त प्रतिभा पालिकाले पहिचान गर्ने भएको हो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्ने र विभिन्न प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गर्ने भएको हो । क्षमता अनुसार विद्यार्थीको विकासका लागि प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यालयस्तरीय प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने शिक्षा अधिकृत सरस्वती पौडेलले बताइन् । कार्यक्रम अन्तर्गत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूबीच हस्तलेखन, वक्तृत्वकला, रचनात्मक लेखनजस्ता विभिन्न विधामा प्रतिस्पर्धा गराइने छ । साथै, गा.पा. स्तरीय परीक्षा २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गरिनेछ । यस्तै, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र विद्यालयलाई समेत सम्मान गरिने छ ।
बरुणेश्वर माध्यमिक विद्यालयमा जेठ १५ गते प्रतियोगिताहरू सञ्चालन र जेठ १६ गते पुरस्कार वितरण तथा सम्मान कार्यक्रम हुनेछ ।

प्रतिभा पहिचानमार्फत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि हुने विश्वास लिँदै गाउँपालिकाले यस कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिएको गाउँपालिका अध्यक्ष उत्तम राईको भनाई छ ।
मोलुङ गाउँपालिकाले शैक्षिक विकास र गुणस्तर सुधारमा नीतिगत पहल गरिरहेको छ ।
प्रतिक्रिया