कोशी प्रदेशमा ओखलढुंगा प्रहरी उत्कृष्ट बनेको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका १४ जिल्ला र प्रदेश भित्रका अन्य ७ गरी २१ वटा प्रहरी कार्यालयमा गरेको मुल्याङकनमा ओखलढुंगा प्रहरी उत्कृष्ट बनेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयसँग प्रदेश भित्रका जिल्ला प्रहरी र ७ अन्य प्रहरी कार्यालयले कार्यसम्पादन सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार चालु आर्थिक वर्षको ९ महिनाको कार्यसम्पादन मुल्याङ्कनमा १०० मा ९३.०९ अंक प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पहिलो बनेको हो ।
प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाएको कामको विभागिय मुल्याङ्कन भएको ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले बताए । गतवर्ष पनि ओखलढुंगा प्रहरी प्रदेशमा पहिलो बनेको थियो ।
प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको जिल्लागत मुल्याङ्कनमा ९३.०९ अंक प्राप्त गर्दै ओखलढुंगा पहिलो बन्दा छिमेकी जिल्ला सोलुखुम्बु ७६.९१ अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ ।

भोजपुरले ९२.९८, खोटाङले ९०.८५, पाँचथरले ८९.७५, धनकुटाले ८९.७०, ताप्लेजुङले ८९.६१, सुनसरीले ८८.१४, संखुवासभाले ८७.८८, तेह्रथुमले ८५.५७, उदयपुरले ८५.५४, मोरङले ८५.४२, ईलामले ८२.७१, झापाले ८१.०० अंक ल्याएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला/जिल्लाका प्रहरी कार्यालयसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेर त्यसका आधारमा मुल्याङ्कन गर्दै पृष्ठपोषण दिने गरेको छ ।

प्रतिक्रिया