एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव कुलप्रसाद खतिवडाले सरकार अनुदार र गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । काठमाडौंमा जारी शिक्षक आन्दोलनको २५ दिनको सभालाई सम्बोधन गर्दै खतिवडाले संविधान जारी भएको ३ वर्षभित्रमा बनाउनु पर्ने शिक्षा ऐन १० वर्षसम्म नबनाएको र शिक्षकले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको बताएका हुन् ।
विगतमा शिक्षक महासंघ र शिक्षकका संघ संगठनसँग गरेका लिखित प्रतिवद्धता पुरा नभएको र यसपटक विगतका सहमति कार्यान्वयनसहितको संघिय शिक्षा ऐन र शिक्षा सुधारका मागहरु लिएर २५ दिनसम्म लगातार देशभरका शिक्षकहरुले माइतिघर–बानेश्वरमा आन्दोलन गरिरहँदा सिंहदरबारले नसुनेको महासचिव खतिवडाले बताए ।
शिक्षकका मागमा लचिलो हुनुको सट्टा आन्दोलन तुहाउन सरकारी उद्दत भएको भन्दै यस पटक शिक्षकहरु संघिय शिक्षा ऐन लिएर मात्रै विद्यालय फर्कन उनको भनाई थियो । ‘सरकार गैरजिम्मेवार, अनुदार र असफल भैसक्यो, शिक्षकको आन्दोलन तुहाउने प्रयास भइरहेको छ तर यसपटक उधारोमा सम्झौता हुन्न र शिक्षा ऐन नलिइ शिक्षकहरु फर्कनेवाला छैनन् ।’ महासचिव खतिवडाले भने, ‘सरकारले तत्काल सम्बोधन गर्न सक्ने थुप्रै मागहरु छन् । त्यसलाई मन्त्रीपरिषद्बाट निर्णय गराएर बाँकी ऐनलाई सदनबाट पारित गराउन सरकारले सक्थ्यो तर त्यस तर्फ सरकार लागेन । माग पुरा नहुँदासम्म आन्दोलन थप चर्किन्छ ।’ अदालत र सरकारले शिक्षकलाई कर्तव्यबोध गराउन खोज्दै तत्काल रित्तोहात विद्यालय फर्काउन खोजेपनि शिक्षकहरु कर्तव्यसँगै अधिकार सुनिश्चित गराउन लागेको उनको भनाई थियो ।
ऐन बनाउनु सरकारको काम भएपनि शिक्षकले ध्यानाकर्षण गराउँदा समेत अटेर गरेर शैक्षिक विकासमा सरकार बाधक बनेको उनको तर्क थियो ।
महासचिव खतिवडाले आन्दोलनलाई थप शसक्त बनाउन शिक्षकहरुसँग अपिल समेत गरेका छन् ।
प्रतिक्रिया