जनजाति युवा महासंघको २१ बुँदे घोषणापत्र जारी : पहिचान, अधिकार, रोजगारी र एकतामा जोड

जनजाति युवा महासंघको २१ बुँदे घोषणापत्र जारी : पहिचान, अधिकार, रोजगारी र एकतामा जोड



आदिवासी जनजाति युवा महासंघ नेपालले विभिन्न २१ बुँदे घोषणापत्र जारी गरेको छ । बैशाख ६ गते देखि ८ गतेसम्म ओखलढुंगामा सञ्चालित छैठौँ महाधिवेशनले पहिचान, अधिकार, रोजगारी र एकताका लागि लड्ने लगायत २१ बुँदे घोषणापत्र जारी गरेको छ ।

महासंघले जिल्ला सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै उक्त घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा महासंघका केन्द्र देखि वडासम्म संगठन विस्तार तथा पुर्नगठन र सवलिकरणमा जोड दिने प्रतिवद्धता जनाएको नवनिर्वाचित अध्यक्ष किरण श्रेष्ठले बताए ।

यस्तै आदिवासी जनजाति समुदायको हक अधिकार, पहिचान, संस्कार संस्कृतिका लागि एकजुट भएर अघि बढ्ने, युवाहरुको रोजगारीका लागि सरकारलाई खबरदारी गर्ने, प्रदेश १ को उचित नामांकनका लागि संघर्ष गर्ने घोषणा गरिएको छ ।

समावेसी, समानुपातिक सहभागीता र रोजगारीको लागि पैरवी तथा संघर्ष गर्ने लगायतका विभिन्न २१ वटा घोषणा गरिएको महासचिव घम्वा तामाङ मिलनले बताएका छन् ।

ओखलढुंगामा सम्पन्न छैठौं संघीय महाधिवेशनले किरण श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको थियो भने वरिष्ठ उपाध्यक्षमा सुभलाल राई, संघिय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुप्रिया राई र सुचिउन्मुख उपाध्यक्षमा देव बाहिङ निर्वाचित भएका छन् ।

महासंघको महासचिवमा घम्बा तामाङ, उपमहासचिवमा सुवास मोक्तान र कोषाध्यक्षमा रब्बा शेर्पा विजयी भएका छन् । यसैगरी महाधिवेशन बाट सात वटै प्रदेशमा सात जना सचिव निर्वाचित भएका छन् ।

सचिव १ मा टार्जन सुनुवार, २ मा जितेन्द्र सुमार सिं, ३ मा योगेश मोक्तान, ४ मा रेखा लोप्चन तामाङ, ५ मा अर्जुन गुरुङ, ६ मा पेमा वाङ्मो लामा र ७ मा तुलबहादुर थापा मगर निर्वाचित भएका छन् ।

संघिय सदस्यमा ३० जना सदस्य निर्वाचित भएका छन् ।