ओखलढुङ्गामा सम्पन्न आदिवासी जनजाती युवा महासंघको छैठौं संघीय महाधिवेशनबाट किरण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी मानबहादुर सुनुवार र मन्जुथापा मगरलाई हराउदै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।
श्रेष्ठले ६९, सुनुवारले ४९ र थापामगरले ३९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुभलाल राई, संघिय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुप्रिया राई र सुचिउन्मुख उपाध्यक्षमा देव बाहिङ विजयी भएका छन् ।
महासंघको महासचिवमा घम्बा तामाङ, उपमहासचिवमा सुवास मोक्तान र कोषाध्यक्षमा रब्बा शेर्पा विजयी भएका छन् । यसैगरी महाधिवेशन बाट सात वटै प्रदेशमा सात जना सचिव निर्वाचित भएका छन् ।
सचिव १ मा टार्जन सुनुवार, २ मा जितेन्द्र सुमार सिं, ३ मा योगेश मोक्तान, ४ मा रेखा लोप्चन तामाङ, ५ मा अर्जुन गुरुङ, ६ मा पेमा वाङ्मो लामा र ७ मा तुलबहादुर थापा मगर निर्वाचित भएका छन् ।
जिएस गुरुङको अध्यक्षतामा सम्पन्न भएको निर्वाचन बाट ३० जना संघिय सदस्य निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आदिवासी जनजाती समुदायको हक अधिकार सुनिश्चित गर्र्न, युवाहरूको क्षमताको विकास गर्न तथा नीति निर्माण तहमा पहुँच विस्तार गर्ने योजनासहित कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पदाधिकारी छनौटमा सहमति हुन नसकेपछि मतदान प्रक्रिया मार्फत कार्य समिति छनौट गरिएको हो । शनिबार ओखलढुङ्गा सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा रक्षामन्त्री मानवीर राईले महासंघको छैठौं महाधिवेशन उद्घाटन गरेका थिए ।
प्रतिक्रिया