ओखलढुंगाको मोलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सम्पुर्ण बालबालिकाले सबै खोप पाएको सुनिश्चितता भएसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
१६ देखि ५९ महिना उमेर समूहका ५०८, १६ देखि २३ महिना उमेर समूहका १२७ र जन्म देखि १५ महिना उमेर समूहका १५३ जना बालबालिकाले खोप पाएको सुनिश्चितता भएको स्वास्थ्य शाखा संयोजक वेदहरि दाहालले जानकारी दिए ।
यसका साथै वडा नं.२ को रामपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको छ । ४० प्रकारको रोगको परिक्षण गर्न मिल्ने ल्याबको उपकरण जडान गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा विनियोजित १० लाख बजेट बाट आवश्यक सामाग्री तथा उपकरण खरिद गरि ल्याब सेवा सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । ल्याब सञ्चालनमा आएसँगै वृद्धवृद्धा, अशक्त लगायत सबैलाई कुनै ल्याब परिक्षणका लागि सदरमुकाममा वा निजी मेडिकल धाउनुपर्ने बाध्यता अन्त्य हुने गाउँपालिका अध्यक्ष राईले बताए ।
मोलुङको सबै वडा साथै खिजीदेम्बा र सुनकोशी गाउँपालिकाको केही वडाका नागरिकलाई समेत ल्याब सेवा लिन सहज हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया