ओखलढुंगाको सुनकोशी गाउँपालिकाले खेलकुद क्षेत्रमा गरेको लगानीको प्रतिफल विद्यार्थीले दिलाएका छन् । चम्पादेवी गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम भएको छ । आठ स्वर्ण, सात रजत र तीन कास्य सहित कुल १८ पदक जित्दै सुनकोशीले जिल्ला स्तरिय रनिङ शिल्ड जितेको हो ।
गत वर्षको प्रतियोगितामा सुनकोशी चौथो भएको थियो । यस पटकको प्रतियोगिताका लागि प्राथमिकताका साथ भएको तयारीले उपाधी हात परेको शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख विवेक तामाङले बताए । राष्ट्रपति रनिङ शिल्डको तयारीका लागि प्रतियोगितामा सहभागी हुने १३ वटा विद्यालयहरुले एक–एक लाख बजेटको प्राप्त गरेका थिए । “१५ दिन अघि देखि प्रत्येक विद्यालयले प्रशिक्षक व्यवस्था गरेर तयारी गरेका थिए,” प्रमुख तामाङले बताए ।
गत वर्ष प्रत्येक माध्यमिक तहका विद्यालयलाई एक लाख बजेट दिने गाउँपालिका अध्यक्ष कमल तामाङले घाेषणा गरेका थिए ।
सात स्वर्ण र दुई रजत सहित कुल नौ पदक जित्दै चिशंखुगढी गाँउपालिका द्वितिय भएको छ । छ स्वर्ण, एक रजत र तीन कास्य सहित कुल १० पदक जित्दै मानेभञ्ज्याङ गाँउपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।
गत बर्ष प्रथम भएको सिद्धिचरण नगरपालिका भने यसपटक तीन स्वर्ण छ रजत र नौं कास्य पदकका साथ १८ पदकका साथ चौथो बनेको छ । यस्तै लिखु गाँउपालिकाले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक गरि १० पदकसहित पाचौँ, दुई स्वर्ण, चार रजत र ६ कास्य पदकसहित मोलुङ गाँउपालिका छैठौँ भएको छ ।
खिजीदेम्वा गाँउपालिका एक स्वर्ण, चार रजत र तीन कास्य पदकका साथ सातौं भनेको छ भने प्रतियोगिताको आयोजक तथा व्यवस्थापक चम्पादेवी गाउँपालिकाले एउटै पनि स्वर्ण पदक जित्न सकेन । चार रजत र एक कास्य पदकसहित आठौँ बनेको छ ।
अर्को बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खिजीदेम्बा वा मानेभन्ज्याङ गाउँपालिकामा हुने भएको छ । कुन स्थानिय तहमा सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया