ओखलढुंगाका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्ने काम भइरहेको छ । भूमि समस्या समाधान आयोग ओखलढुंगाले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालिएको छ ।
जिल्लाका आठ वटा स्थानीय तहहरुमध्ये तीन वटा स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्वासीलाई निस्सा दिइएको छ । हालसम्म जिल्लाको मोलुङ गाउँपालिकाका १४ जना, सुनकोशी गाउँपालिकाका पाँच र मानेभन्ज्याङ गाउँपालिकाका सात जनालाई निस्सा प्रदान गरिएको आयोगका जिल्ला अध्यक्ष पुरुषोत्तम लुइटेले जानकारी दिए ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको उनको भनाई छ । निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन् ।
आयोगका जिल्ला अध्यक्ष लुइटेलले गाउँपालिकाले छिटो गरेको खण्डमा लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताए । उनका अनुसार अझै पाँच वटा पालिकामा निस्सा वितरणको काम बाँकी छ । निस्सा पाएका लाभग्राहीहरुको थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढिसकेको र छिट्टै लालपूर्जा वितरण हुने उनको भनाई छ ।
विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ ।

जिल्लाका आठ स्थानीय तहमा ४४ जना भूमिहीन सुकुम्बासी, नौं जना भूमिहीन दलित र एक जना अव्यवस्थित बसोबासी गरि कुल ५४ जनाको तथ्याङ्क रहेको आयोगले जनाएको छ ।
निस्सा पाएकाहरुमध्ये सुकुम्वासीले ठाउँ अनुसार कम्तिमा १० आना जग्गा पाउनेछन् । जग्गा प्राप्तीका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्रथामिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालका कुनैपनि ठाउँमा तोकिए त्यो ठाउँमा जग्गा पाउनेछन् ।
त्यस्तै अव्यवस्थितले बसिरहेको ठाउँमा मात्रै पाउने छन् । त्यो बाहेक अनेत्र उनिहरुको लागि जग्गा वितरण हुने छैन ।
प्रतिक्रिया