ओखलढुंगाकाे रामपुरमा प्रहरीको नागरिक सुनुवाई : गुनासो कम, सुझाव धेरै

ओखलढुंगाकाे रामपुरमा प्रहरीको नागरिक सुनुवाई : गुनासो कम, सुझाव धेरै



प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित ओखलढुंगाको रामपुरमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा मोलुङ गाउँपालिका–२ रामपुरमा बिहीबार नागरिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा स्थानीय नागरिकका गुनासो, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा छलफल भएको थियो । कार्यक्रमको सुरुमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुईटेलले जिल्ला भएका घटना, अपराध, दुर्घटना त्यसबाट भएको मानविय तथा अर्थिक क्षति लगायतको बिषयमा तथ्यांक प्रस्तुत गरेका थिए ।
साथै अपराध र दुर्घटना न्यूनिकरणका लागि प्रहरीले गरेकाका कामको बिषयमा समेत जानकारी गराइएको थियो ।
त्यसपछि भएको छलफलमा नागरिकहरूले पछिल्लो समय विद्यार्थी र युवाहरुमा लागुपदार्थ दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको, जुवातासका घटना समुदायमा गुपचुक रुपमा बढिरहेकोले यसको नियन्त्रणका लागि प्रहरीले के गर्दैछ ? भन्ने प्रश्न गरेका थिए ।
यस्तै आगलागीका घटना बढीरहेको परिप्रेक्षमा कारबाही संख्या कम हुनुको कारणबारे पनि नागरिकहरुले जिज्ञासा राखेका थिए । बजारमा अखाद्य बस्तुको विक्री बढीरहेको, यातायातमा चर्को भाडा असुली भइरहेको लगायतका बिषयमा प्रहरी र प्रशासनलाई नागरिकले गुनासो गरेका थिए ।
नागरिकका गुनासोमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले लागुऔषध र जुवातासका घटना निमूल पार्न प्रशासन र प्रहरीले कडा कदम चाल्ने बताउँदै त्यसका लागि नागरिकस्तरबाट पनि सहयोगको आवश्यक्ता रहेको बताए ।
कहिँ कतै आपराधिक घटना, लागुऔषध प्रयोग, जुवातास वा अन्य कुनै त्यस्ता घटनाका बारेमा जानकारी भएमा गोप्य रुपमा प्रहरी र प्रशासनलाइ सूचना दिएर सहयोग गर्न आग्रह गरेका थिए । कानुन विपरितका कार्य गर्ने जो काहीलाई पनि कारबाहीको दायरामा ल्याउन प्रशासन र प्रहरी तत्पर रहेको उनको भनाई थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका निमित्त प्रमुख प्रहरी निरीक्षक विजय कार्कीले नागरिकका गुनासोको सम्बोधन गर्दै समुदायमा अपराध, दुर्घटना, आत्महत्या, लैंगिक हिंसा लगायतका अपराध न्यूनिकरणका लागि नागरिकको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
नागरिक पनि बिना बर्दिको प्रहरी भएकाले अपराधमुक्त, सुरक्षित, सु–सस्कृत र सभ्य समाज निर्माणका लागि सबै जुट्नुपर्ने उनले बताए । विद्यालयमा लागु औषध प्रयोग विद्यार्थी र युवाको संख्या बढेको भन्ने गुनासोमा उनले परिवारका अभिभावकले बेलैदेखि रेखदेख गर्नसके उनीहरु त्यसतर्फ फस्नबाट बच्नसक्ने उल्लेख गरे ।
आफ्ना बालबालिकाको सबै व्यवहारको सुक्ष्म निगरानी गरेर आवश्यक सल्लाह सुझाव, माया र रेखदेख गर्न उनको सुभाव थियो । अन्य आपराधिक घटनाबारे कुनै सूचना–जानकारी भएमा प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै उनले खबर दिने व्यक्तिको परिचय गोप्य रहने उल्लेख गरे ।
कार्यक्रमले सेवाग्राही र सेवा प्रदायक संस्थाबिचको प्रत्यक्ष सम्बन्ध स्थापना हुने र सुशासन, पारदर्शिता र जवाफदेहिता बोध हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल, सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक प्रभात कुमार गौतम, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका निमित्त प्रमुख प्रहरी निरीक्षक कार्की, प्रहरी निरीक्षक लुईटेल सहित प्रहरी कर्मचारी, पालिकाका कर्मचारी, वडा अध्यक्ष, शिक्षक, स्थानीय लगायत सरोकारवालको सहभागिता थियो ।