कटुञ्जे माविको प्रेरणादायी यात्रा : गाउँमै शैक्षिक रूपान्तरणको नमूना

कटुञ्जे माविको प्रेरणादायी यात्रा : गाउँमै शैक्षिक रूपान्तरणको नमूना



“गुणस्तरीय शिक्षा सहरमा मात्र होइन, गाउँमै सम्भव छ” भन्ने सन्देश बोकेको ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ स्थित कटुञ्जे माध्यमिक विद्यालयले शैक्षिक रूपान्तरणतर्फ प्रेरणादायी पाइला चालेको छ । ‘शिक्षक सशक्तीकरण तथा शिक्षा रूपान्तरण अभियान’ अन्तर्गत विद्यालयले गत २०८१ चैत १८ देखि २२ गतेसम्म पाँच दिने विशेष तालिम सञ्चालन गर्दै सामुदायिक विद्यालयमा नमुना सुधारको थालनी गरेको छ ।

तालिमका क्रममा शिक्षकहरूले बालमैत्री, व्यवहारिक, नवीन र प्रविधिमैत्री शिक्षण विधिमा दक्षता अभिवृद्धि गर्दै विद्यार्थी केन्द्रित शिक्षण अभ्यासमा प्रशिक्षण लिएका छन् । यसले उनीहरूको व्यावसायिक क्षमताको विकास मात्र होइन, शिक्षणमा नवीन दृष्टिकोण अपनाउने सीपलाई समेत समृद्ध बनाएको छ ।

तालिमको समापनमा आयोजित अन्तरक्रिया कार्यक्रममा अभिभावक र शैक्षिक सरोकारवालासँग समेत संवाद गरी अभिभावकलाई बालमैत्री शिक्षण अवधारणाबारे संक्षिप्त प्रशिक्षण दिइएको थियो । यसले विद्यालय, अभिभावक र शिक्षकबीच समन्वय तथा विश्वासको सेतु मजबुत बनाउने विश्वास गरिएको छ ।

प्रशिक्षक समिरा दाहालले शिक्षकहरुलाई प्रशिक्षण दिएकी थिईन । तालिमकी प्रमुख प्रशिक्षक समिरा दाहाल उक्त विद्यालयकै पूर्व विद्यार्थी हुन् । “हामी हाम्रा बच्चामा जुन गुण देख्न चाहन्छौं, त्यो वातावरण हामी आफैंले दिनुपर्छ ।” प्रशिक्षक दाहालले भनिन् । सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न उनको सुझाव छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म विद्यालयमा मण्टेश्वरी शिक्षण विधि लागू गरिने जानकारी दिए । शिक्षकहरूको क्षमता विकास, प्रविधिमैत्री शिक्षण र उत्तरदायी व्यवस्थापनमा प्राथमिकता दिईएको प्रधानाध्यापक पुडासैनीको भनाई छ । साथै, सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत विद्यालय व्यवस्थापनमा पारदर्शिता र कार्यदक्षता बढाइने प्रधानाध्यापक पुडासैनीले जानकारी दिए ।

विद्यालयले दीगो आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न कोषहरू स्थापना गर्दै आर्थिक संकलन अभियान समेत सुरु गरिएको छ । यसै क्रममा समाजसेवी ओमप्रसाद भट्टराईले विद्यालयको स्मृति कोषमा रु. १० हजार सहयोग गरेका छन् । उनलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा कक्षा १–३ को प्रवोधिकरण सहितको नतिजा अभिभावकको सहभागितामा सार्वजनिक गरिएको छ । साथै, २०८१ साउनदेखि पौष २२ सम्मको दिवा खाजाको रकम हस्तान्तरण गरिएको छ । अब विद्यालयमा सञ्चालनमा ल्याइएको क्यान्टिनमार्फत स्थानीय, ताजा र पौष्टिक खाजा उपलब्ध गराउने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सुनकोशी–९ का संस्थापक वडाध्यक्ष झनक कुमार कार्कीको सक्रिय समन्वयमा विविध नवीन कार्यक्रमहरू विद्यालयमा अघि बढ्दै छन् । सरकारी स्रोतमा मात्र निर्भर नरही, शिक्षक, अभिभावक र समुदायको सहकार्यमा विद्यालयले शैक्षिक रूपान्तरणको बाटो समातेको विव्यस अध्यक्ष कार्कीले बताए ।

‘आफ्नै विद्यालयको विकास आफैंबाट’ भन्ने मूल सन्देश बोकेको यो अभियान गाउँमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा कटुञ्जे मावि स्थापित हुँदैछ ।