कटुञ्जे माविको प्रेरणादायी यात्रा : गाउँमै शैक्षिक रूपान्तरणको नमूना

भिजन समाचार
92
Shares

“गुणस्तरीय शिक्षा सहरमा मात्र होइन, गाउँमै सम्भव छ” भन्ने सन्देश बोकेको ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ स्थित कटुञ्जे माध्यमिक विद्यालयले शैक्षिक रूपान्तरणतर्फ प्रेरणादायी पाइला चालेको छ । ‘शिक्षक सशक्तीकरण तथा शिक्षा रूपान्तरण अभियान’ अन्तर्गत विद्यालयले गत २०८१ चैत १८ देखि २२ गतेसम्म पाँच दिने विशेष तालिम सञ्चालन गर्दै सामुदायिक विद्यालयमा नमुना सुधारको थालनी गरेको छ ।

तालिमका क्रममा शिक्षकहरूले बालमैत्री, व्यवहारिक, नवीन र प्रविधिमैत्री शिक्षण विधिमा दक्षता अभिवृद्धि गर्दै विद्यार्थी केन्द्रित शिक्षण अभ्यासमा प्रशिक्षण लिएका छन् । यसले उनीहरूको व्यावसायिक क्षमताको विकास मात्र होइन, शिक्षणमा नवीन दृष्टिकोण अपनाउने सीपलाई समेत समृद्ध बनाएको छ ।

तालिमको समापनमा आयोजित अन्तरक्रिया कार्यक्रममा अभिभावक र शैक्षिक सरोकारवालासँग समेत संवाद गरी अभिभावकलाई बालमैत्री शिक्षण अवधारणाबारे संक्षिप्त प्रशिक्षण दिइएको थियो । यसले विद्यालय, अभिभावक र शिक्षकबीच समन्वय तथा विश्वासको सेतु मजबुत बनाउने विश्वास गरिएको छ ।

प्रशिक्षक समिरा दाहालले शिक्षकहरुलाई प्रशिक्षण दिएकी थिईन । तालिमकी प्रमुख प्रशिक्षक समिरा दाहाल उक्त विद्यालयकै पूर्व विद्यार्थी हुन् । “हामी हाम्रा बच्चामा जुन गुण देख्न चाहन्छौं, त्यो वातावरण हामी आफैंले दिनुपर्छ ।” प्रशिक्षक दाहालले भनिन् । सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न उनको सुझाव छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म विद्यालयमा मण्टेश्वरी शिक्षण विधि लागू गरिने जानकारी दिए । शिक्षकहरूको क्षमता विकास, प्रविधिमैत्री शिक्षण र उत्तरदायी व्यवस्थापनमा प्राथमिकता दिईएको प्रधानाध्यापक पुडासैनीको भनाई छ । साथै, सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत विद्यालय व्यवस्थापनमा पारदर्शिता र कार्यदक्षता बढाइने प्रधानाध्यापक पुडासैनीले जानकारी दिए ।

विद्यालयले दीगो आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न कोषहरू स्थापना गर्दै आर्थिक संकलन अभियान समेत सुरु गरिएको छ । यसै क्रममा समाजसेवी ओमप्रसाद भट्टराईले विद्यालयको स्मृति कोषमा रु. १० हजार सहयोग गरेका छन् । उनलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा कक्षा १–३ को प्रवोधिकरण सहितको नतिजा अभिभावकको सहभागितामा सार्वजनिक गरिएको छ । साथै, २०८१ साउनदेखि पौष २२ सम्मको दिवा खाजाको रकम हस्तान्तरण गरिएको छ । अब विद्यालयमा सञ्चालनमा ल्याइएको क्यान्टिनमार्फत स्थानीय, ताजा र पौष्टिक खाजा उपलब्ध गराउने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सुनकोशी–९ का संस्थापक वडाध्यक्ष झनक कुमार कार्कीको सक्रिय समन्वयमा विविध नवीन कार्यक्रमहरू विद्यालयमा अघि बढ्दै छन् । सरकारी स्रोतमा मात्र निर्भर नरही, शिक्षक, अभिभावक र समुदायको सहकार्यमा विद्यालयले शैक्षिक रूपान्तरणको बाटो समातेको विव्यस अध्यक्ष कार्कीले बताए ।

‘आफ्नै विद्यालयको विकास आफैंबाट’ भन्ने मूल सन्देश बोकेको यो अभियान गाउँमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा कटुञ्जे मावि स्थापित हुँदैछ ।