न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाको अवस्थामा सुधार आएको छ । अस्पतालले यस बर्ष ६२ प्रतिशत अंक प्राप्त गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा सात प्रतिशतले बढी हो ।
गत वर्ष अस्पतालले ५५ प्रतिशत अंक प्राप्त गरेको थियो । अस्पतालको सेवामा सुधार, मेसिन उपकरणको व्यवस्थापन लगायतका कारण यस बर्ष सात प्रतिशतले बढेर ६२ प्रतिशत पुगेको अस्पतालका सूचना अधिकारी कुमार प्रसाद दाहालले बताए ।
दाहालका अनुसार अस्पतालमा दक्ष चिकित्सकबाट हुने उपचार सेवा प्रभावकारी बन्दै जानु, बिरामी अन्यत्र रेफर हुने संख्यामा कमि, व्यवस्थापनमा सुधार, उपचारका लागि मेसिन उपकरणको उपलब्धता बढ्दै जानु जस्ता कारण अस्पतालको अवस्थामा सुधार भएको हो ।
जिल्ला अस्पताल रुम्जाटार हाल १५ शैयाको छ । जसमा वार्ड तर्फ १० वटा र ईमरजेन्सी बेड पाँच वटा रहेका छन् । यस्तै प्रसूति शैया पाँच र पोषण पुर्नस्थापना केन्द्रमा १० वटा बेड रहेका छन् ।
अस्पतालमा डाक्टर र कर्मचारीको अभाव छ । जनशक्तिको अभावका कारण आइसीयु सेवा सञ्चालन भएको छैन ।
सीमित पूर्वाधार र उपकरणका बावजुद समेत अस्पतालले उत्कृष्ट सेवा दिने प्रयास गरिरहेको अस्पतालका प्रमुख डा. रविन यादवले बताए । अस्पतालमा एम्बुलेन्सको पनि अभाव छ ।
प्रतिक्रिया