ओखलढुंगामा सम्पन्न पाचौँ जिल्ला सभाले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गर्न जोड दिएको छ । यस सँगै विभिन्न २० वटा महत्वपूर्ण निर्णय गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले आज पत्रकारहरु सँग भेटघाट गरेर प्रेस वक्तव्य जारी गर्दै सभा मार्फत २० वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिएका हुन् ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आधारभूत तह विशेषतः कक्षा ३ सम्मको लागि जिल्ला शिक्षा समितिको बैठकबाट गठन गरिएको शैक्षिक कार्यदलले तयार गरेको शैक्षिक सरल अतिरिक्त सन्दर्भ सामाग्री कक्षा ०–१ को लागि शैक्षिक सत्र २०८२ बाट लागु गर्ने निर्णय भएको छ ।
यस्तै कक्षा २–३ को लागि आगामी शैक्षिक सत्र २०८३ बाट सबै सामुदायिक विद्यालयहरूमा प्रचलित कानून सँग नबाझिने गरी स्वेच्छिक रुपमा लागू गर्न पहल गरिने भएको छ ।
धूलोरहित कक्षाकोठा, बालमैत्री फर्निचरको प्रबन्ध साथै उक्त सन्दर्भ सामाग्री छपाई तथा वितरण सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था मिलाउने र कार्यरत शिक्षकहरुको शैक्षिक पात्रो बनाई नियमित अनुगमन, मूल्याङ्कन र प्रोत्साहन सम्बन्धित स्थानीय तहहरुले नियमित रुपमा गर्ने निर्णय भएको छ ।
जिल्लाका प्रत्येक स्थानीय तहहरुमा कम्तिमा एक वटा आवासीय विद्यालय संचालन गर्न तीनै तहका सरकारहरू सँग पहल गर्ने निर्णय पनि अनुमोदन भएको छ ।
यस्तै लैंगिक हिंसालाई न्यूनीकरण गर्न लैङ्गिक हिंसा सम्बन्धी विषय समावेश गरेर सवै सामुदायिक विद्यालयहरूमा पाठ्य सामाग्री तयार गरी लागू गर्न गराउन अनुरोध गरिने भएको छ ।
अन्य २० वटा महत्वपुर्ण योजनाहरु
मोलुङ गाउँपालिका–४ को धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा जलजलेश्वर महादेव मन्दिर क्षेत्रलाई जिल्लाकै गौरवको आयोजनाको मान्यता दिँदै जलजलेश्वर महादेव धार्मिक, सांस्कृतिक तथा पर्यटकीय धरोहरको वृहत्तर पूर्वाधार विकासका लागि संघीय सरकार तथा प्रदेश सरकार र राष्ट्रिय, अन्तर्राष्ट्रिय विकास साझेदार निकायहरू पहल गर्ने निर्णय भएको छ ।
जिल्लाको रुम्जाटारमा रहेको एक मात्र जिल्ला अस्पलालको स्तरोन्नति गरी १०० शैय्या (बेड) संचालन, विशेषज्ञ चिकित्सकहरूको सेवा, नर्सिङ कलेजको स्थापना र संचालन तथा स्वास्थ्य बीमा प्रभावकारी कार्यन्वयन गर्न संघिय सरकार, प्रदेश सरकार र सबै स्थानीय सरकार बीच समन्वय र सहकार्य गरी उक्त अस्पताल प्रभावकारी रुपमा संचालनमा ल्याउने निर्णय भएको छ ।
साथै चम्पादेवी गाउँपालिका वडा नं. १० मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको स्तरोन्नति गरी भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने पनि जिल्ला सभाले निर्णय गरेको छ ।
“रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेस” भन्ने उक्तिलाई कार्यान्वयन गर्न जिल्ला समन्वय समितिको सभाहलमा संचालनमा रहेको जीवन विज्ञान प्रयोगशालाई निरन्तरता दिदै जिल्लाभर विस्तार गरि नागरिकहरुको जीवन स्वस्थ राख्न सबै स्थानीयतह र सरोकारवाला निकायहरुसँग समन्वय गरिने भएको छ ।

प्रतिक्रिया