विज्ञान विषयको शिक्षक भेट्टाउन मुस्किल, बाह्रौं पकट विज्ञापन

विज्ञान विषयको शिक्षक भेट्टाउन मुस्किल, बाह्रौं पकट विज्ञापन



पहाडी जिल्लाका ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विज्ञान विषय अध्यापन गराउने शिक्षक भेट्टाउन मुस्किल हुन थालेको छ । एउटा सामुदायिक विद्यालयले ११ पटक विज्ञान विषयका लागि विज्ञापन गर्दा समेत कसैको दरखास्त परेन । उक्त विद्यालयले १२ औं पटक पुनः विज्ञान विषयको शिक्षक आवश्यकता सम्बन्धीको दरखास्त आह्वान गरेको छ ।

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–२ को सरस्वती माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १२ औं पटक दरखास्त आह्वान गरेको हो । गत असार देखि चैत सम्म १२ पटक दरखास्त आह्वान गरिएको छ ।

११ पटक दरखास्त आह्वान गरिएपनि कसैको दरखास्त नपरेपछी गत विहिबार विद्यालयले बाह्रौ पटक दरखास्त आह्वान गरेको छ । विद्यालयलाई माध्यमिक तह तृतिय श्रेणी करार पदमा विज्ञान विषयको शिक्षक आवश्यकता छ । १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका शैक्षिक योग्यता पुगेकाले आगामी चैत १३ गते सम्म दरखास्त दिन सूचनामा भनिएको छ ।

यस विषयमा गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकार सँग गुहार मागेका छन् । “गुहार सरकार गुहार ! १२ पटक सम्म सूचना गर्दा पनि विज्ञान शिक्षक पाइएन, दुर्गम भूगोलका विद्यार्थीहरूले अब बिषय अध्ययन नगर्नु भनेर परिपत्र गरिदिनू ! कि कानुन सुधार गरिदिनु ।” अध्यक्ष शर्माले फेसबुकमा लेखेका छन् ।