ओखलढुंगामा रोकिएन घरमै सुत्केरी हुने क्रम

ओखलढुंगामा रोकिएन घरमै सुत्केरी हुने क्रम



घरमा हुने सुत्केरीलाई शुन्यमा झार्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको छ । पायक पार्ने स्थानमा २४ सैं घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टरहरु स्थापना भएका छन् । तर पनि ओखलढुंगामा घरमा सुत्केरी हुने क्रम रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१/०८२ को आठ महिनाको अवधिमा २९ जना गर्भवती घरमै सुत्केरी भएका छन् ।

स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सबै भन्दा बढी चिशंखुगढी गाउँपालिकामा आठ जना गर्भवती घरमै सुत्केरी भएका छन् । यसै गरि सिद्धिचरण नगरपालिकामा चार, मोलुङमा तीन, खिजीदेम्बामा पाँच, चम्पादेवीमा सात साथै सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा एकएक जना गर्भवती घरमै सुत्केरी भएका छन् । कार्यालयका अनुसार लिखु गाउँपालिकाको तथ्याङ्क अनुसार घरमा सुत्केरी भएका छैनन् ।

तीन आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा ११६ जना गर्भवती घरमै सुत्केरी भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ४५ जना र आर्थिक वर्ष २०७९/०८० मा ४२ जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले बताए । घरमै सुत्केरी हुने क्रमलाई शुन्यमा झार्न सबैको पहल आवश्यक रहेको सूचना अधिकारी पोखरेलको भनाई छ ।