ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-३ उँबुमा पशुपंछी तथा बाली उपचारशिविर सञ्चालन गरिएको छ । घर नजिकै सञ्चालन भएकाे शिविर मार्फत १५० कृषकहरूले सेवा लिएका छन् ।
कृषि ज्ञान केन्द्र ओखलढुंगा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाई ओखलढुंगा र भेटेरीनरी अस्पताल ओखलढुंगाको संयुक्त आयोजना तथा वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको शिविरमा कृषकहरुले पशुपंछी तथा बालीको लागि औषधि, उपचार र परामर्श सेवा लिएका छन् । शिविरमा बाली उपचार, रोग किरा पहिचान, विशेषज्ञ सहितको प्राविधिक सल्लाह र औषधि विषादी वितरण लगायतको सेवा प्रदान गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख टिका बानियाले बताए ।
गाउँमै पुगेर सेवा दिई कृषकलाई सर्वसुलभ सेवा दिन तथा कृषिमा प्रोत्साहन गर्न शिविर सञ्चाललन गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख एवम् पशु चिकित्सक गणेश भट्टराईले बताए ।
यस्तै जोन क्षेत्रका कृषकलाई गाउँमै पुगेर विशेषज्ञ सहितको परामर्श र बिरामी बाख्राहरुलाई आवश्यक औषधि वितरण गरि कृषकहरुलाई सर्वसुलभ सेवा प्रदान गर्दै कृषि र पशुपालनमा प्रोत्साहनको लागि शिविर सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ओखलढुंगाका पशु विकास अधिकृत डा. निरोज कुमार माझीले बताएका छन् ।
गाउँमै शिविर राखेर कृषकहरुलाई सेवा प्रदान गरेकोमा कार्यक्रमका प्रमुख अतिधि मानेभन्ज्याङ गाउँपालिका उपाध्यक्ष आश्राचन राई, वडा अध्यक्ष जितेन राई, कृषक र सरोकारवाले तीन वटै कार्यालयको कामको प्रशंसा गरेका छन् । आगामी दिनमा पनि यस प्रकारका शिविर सञ्चालन गर्न उनीहरुले आग्रह समेत गरेका छन् । शिविरमा मानेभन्ज्याङ–३ उबुँ सहित आसपासका वडाका कृषकहरुले सेवा लिएका थिए ।
प्रतिक्रिया