वडा कार्यालय मार्फत विद्यालयमा बार्षिक परिक्षा सञ्चालन

वडा कार्यालय मार्फत विद्यालयमा बार्षिक परिक्षा सञ्चालन



ओखलढुंगाको सुनकोशी गाउँपालिकामा वडा कार्यालयले विद्यालयमा बार्षिक परिक्षा सञ्चालन गरेको छ । वडा नं.९ वडा कार्यालयले वडा भित्रका विद्यालयहरुमा बार्षिक परिक्षा सञ्चालन गरेको हो ।

वडा कार्यालय मार्फत प्रश्नपत्र र उत्तर पुस्तिका निर्माण गरेर अनुगमन गरेर परिक्षा सञ्चालन गरिएको वडा अध्यक्ष हितराज कार्कीले बताए । जिल्लामै पहिलो पटक यहाँ वडा कार्यालय मार्फत परिक्षा सञ्चालन गरिएको वडा अध्यक्ष कार्कीको दावी छ । कक्षा ८ र १० बाहेकका कक्षाको परिक्षा सञ्चालन गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि र परिक्षामा एकरुपताका लागि वडाले प्रश्नपत्र निर्माण गरेर परिक्षा सञ्चालन गरिएको हो । वडाहरुले सामुदायिक विद्यालयमा मापदण्ड र पालिकाको समन्वयमा परिक्षा लिन सक्ने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका सूचना अधिकारी बिष्णु प्रसाद कडेलले बताए ।

वडा कार्यालय मार्फत परिक्षा सञ्चालन गरेर वडाका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि तथा सुधारका लागि यस्ता कार्यक्रमलाई पालिकाले प्रोत्साहन गरेको सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख विवेक तामाङले बताए ।