कटुन्जे माविमा ३९ वर्ष शिक्षण गरेका दुर्गा श्रेष्ठको भव्य बिदाइ, एसइइ दिनेलाई ‘फेरि भेटौंला’

कटुन्जे माविमा ३९ वर्ष शिक्षण गरेका दुर्गा श्रेष्ठको भव्य बिदाइ, एसइइ दिनेलाई ‘फेरि भेटौंला’


भिजन समाचार
4.9k
Shares

चार दशकसम्म अनवरत शिक्षण पेशामा क्रियाशिल शिक्षक दुर्गाबहादुर श्रेष्ठलाई कटुन्जे माविले भव्य सम्मानसहित बिदाइ गरेको छ । २०४२ साल फागुन १ गतेदेखि २०८१ साल असोज १८ गतेसम्म निरन्तर शिक्षण सेवा गरेका शिक्षक श्रेष्ठलाई विद्यालयले दोसल्ला, सम्मानपत्र, खादा, मालाद्वारा सम्मान र विद्यालय स्काउट टोलीद्वारा सलामी सम्मान अर्पण सहित बिदाइ गरेको हो ।

श्रेष्ठले विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएका र शिक्षक प्रतिनिधिको रूपमा विद्यालय व्यवस्थापन समितिमा रही विद्यालयको समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

आफ्नो बिदाइका क्रममा श्रेष्ठले शिक्षक-कर्मचारीहरूलाई शिक्षाको प्रतीकस्वरूप एक-एक थान कलम उपहार दिए । ‘कलम ज्ञानको ज्योति हो, जसले पुस्तौँ पुस्तासम्म उज्यालो फैलाउँछ’ भन्दै भावुक बनेका उनले आफुले विद्यालयको समग्र शैक्षिक उन्नयन र बालबालिकाको उज्जवल भविष्यका लागि सक्दो राम्रो गर्ने प्रयास गरेको बताए ।

बिदाइको क्षणमा सहकर्मी शिक्षक र विद्यार्थीहरु निकै भावुक बनेका थिए ।

श्रेष्ठको कुशल नेतृत्व तथा अतुलनीय योगदानको कदर गर्दै बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनक कुमार कार्कीले बताए । ‘दुर्गा सरको चार दशक लामो शिक्षण सेवाले विद्यालयको शैक्षिक उन्नयनमा गहिरो प्रभाव पार्‍यो। सयौँ विद्यार्थी उहाँबाट शिक्षित भई समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका छन्। उहाँ एक शिक्षक मात्र नभई विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न एक विकासप्रेमी लिडर पनि हुनुहुन्छ।’ विव्यस अध्यक्ष कार्कीले भने, ‘ निवृत्त जीवन अझ सक्रिय र सामाजिक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’ सुनकोशी ९ का संस्थापक वडा अध्यक्ष समेत रहेका कार्कीले कटुञ्जेको अगुवा समाजसेवी र लोकप्रिय व्यक्तित्व भएकाले श्रेष्ठको सामाजिक क्षेत्रमा थप योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

सुनकोशी ९ का वडाअध्यक्ष हितराज कार्कीले शिक्षक श्रेष्ठको योगदानको प्रशंसा गर्दै उनको भूमिकाले विद्यालय सुधारका कार्यहरू सम्पन्न गर्न र विद्यालयलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत पुगेको बताए ।

सहकर्मी शिक्षकहरुले समेत उनको योगदान र सहकार्यको स्मरण गरेका छन् । ‘दुर्गा सर स्पष्ट वक्ता, सहयोगी, र दृढ संकल्पका धनी हुनुहुन्छ। उहाँसँग सहकार्य गर्दा सकारात्मक ऊर्जा प्राप्त हुन्थ्यो। उहाँको समर्पण र निःस्वार्थ सेवा सधैं स्मरणीय रहनेछ।’ प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले भने ।

एसइइका परीक्षार्थीहरूलाई बिदाइ तथा ‘फेरि भेटौंला’

कटुञ्जे माविबाट एसइइ दिने परीक्षार्थीहरूको विदाई तथा ‘फेरि भेटौंला’ कार्यक्रम गरी सफलताको शुभकामना दिएको छ । कक्षा ९ भन्दा तल्लो कक्षाका विद्यार्थीहरूले गीत, कविता तथा शुभकामना सन्देश मार्फत कक्षा १० का दाजुभाइ-दिदीबहिनीलाई उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए ।

कक्षा १० का विद्यार्थीहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले विद्यालयमा सिकेका मूल्य, अनुशासन र ज्ञानलाई जीवनभर साथ राख्ने प्रण गरेका छन् ।

परीक्षार्थीहरूलाई प्रेरणा दिँदै विव्यस अध्यक्ष कार्कीले कटुञ्जे माविको उत्पादन विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुने बताए । ‘विद्यालयले शिक्षा मात्र होइन, अनुशासन, नैतिकता, र जीवन जिउने कला सिकायो। जहाँ गए पनि, जुन तहमा पुगे पनि आफ्नो परिवार, विद्यालय र समाजप्रति सम्मान र सहयोग गर्नुपर्दछ।’ अध्यक्ष कार्कीले भने, ‘अहिलेको विद्यार्थी नै भोलिको राष्ट्रप्रमुखसम्म हुने भएकोले पढाईमा विशेष ध्यान दिन अनि परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै विश्वमा नाम राख्ने लक्ष्य राख्न आग्रह गर्दछौँ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनक कुमार कार्कीले विद्यालयले हाल विभिन्न सुधारका कार्यहरू गर्दै आएको जसमा मन्टेश्वरी आधारित शिक्षण प्रविधि, स्काउटको मजबुत विकास, बुक फ्रि फ्राइडेलगायतका अभियान मार्फत शैक्षिक तथा भौतिक सुधारका पहलहरू गरिएको बताए । थप अझै नयाँ र नवीनतम कार्यहरू गर्ने कार्ययोजना बनिसकेको हुँदा सबै शैक्षिक सरोकारवाला हरूलाई विद्यालयको विकासका लागि निरन्तर सहयोग र सहभागिताका लागि अपिल समेत गरेका छन् ।