नापतौलमा गुणस्तर कायम राख्न ओखलढुंगामा शिविर सञ्चालन गरिएको छ । उद्योग वाणिज्य संघ ओखलढुंगाको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा नापतौल दर्ता तथा नविकरण शिविर सञ्चालन गरिएको हो ।
जिल्लाका उद्यमी तथा व्यवसायीहरूलाई स्थानीय स्तरमै सेवा प्रवाह गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताए । मोलुङको रामपुर बजार, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ र १२ को बजार क्षेत्रमा सञ्चालन भएको शिविरमा व्यापारीहरुले सेवा लिएका छन् ।
जिल्ला सदरमुकाममा भएको शिविरमा सिद्धिचरण नगरपालिका र सुनचाँदी व्यवसायी महासंघले पनि समन्वय गरेको छ । रमाइलोडाँडा, रुम्जाटार, केतुके र मानेभन्ज्याङका बजार क्षेत्रमा पनि नापतौल शिविर संचालन हुने महासंघले जनाएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरबाट डोर प्रमुख निरीक्षक मनिषा राईको नेतृत्वमा चार जना कर्मचारीले शिविरमा सेवा दिएका छन् । शिविरमा ढक, तराजु, डिजिटल तराजु, लिटर, मिटर गुणस्तर तथा नापतौल कार्यालयमा दर्ता नवीकरण भए नभएको जाँच गरि गुणस्तर परिक्षण गरेर दर्ता नविकरण समेत भइरहेको छ ।
प्रतिक्रिया