किरात वाम्बुले राईहरुको जन्म देखी मृत्यु पर्यन्त अति आवश्यक स्वालेवाको प्रतिमा उँबु गाउँमा स्थापना गरिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ वाम्बुले राईहरुको उद्गम गाउँमा स्वालेवाको स्तम्भ निर्माण गरिएको हो ।
करिब सात वर्ष अघि देखि निर्माण थालिएको किरात वाम्बुले राई स्वालेवा स्तम्भ पार्क आज वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा विधिवत उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री ठकुरीले जनतालाई असहज भएको वन ऐन संसोधन गरिने बताएका छन् । वन क्षेत्रमा विकास गर्न कानुनी रुपले समस्या भएको गुनासो उठेकाले संसोधन गर्न आवश्यक कानुन संसोधनको प्रक्रिया अगाडि बढाउन पहल गरिने मन्त्री ठकुरीले बताएका छन् ।

किरात राई वाम्बुले समाज (वाम्रास) को अगुवाईमा करिब ८६ लाखको लागतमा ३९ फिट अग्लो स्वालेवाको स्तम्भ बनाईएको आर्थिक संयोजक मुम्चे राईले बताए । वाम्बुले राईको उद्गम स्थल उँबु गाउँमा वाम्बुले राईहरुको अनुपम धरोहर स्थापना गरिएको वाम्रासका केन्द्रिय अध्यक्ष गजुरधन राईले बताए ।
पार्क उद्घाटन समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् ओखलढुंगाका संघिय सांसद रामहरि खतिवडा, राष्ट्रिय गानका सर्जक ब्याकुल माईला, संविधान सभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदिप कुमार सुनुवार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया