ओखलढुंगाको चुहानछापमा सञ्चालित ‘गाउँ फर्क’ अभियान प्रभावकारी बन्दै गएको छ । हाल सम्म ५० बढी परिवार शहरको सुख–सुविधा छाडेर गाउँ फर्किएका छन् । १५० घर परिवार रहेको चुहान छापमा गाउँ छोडेर हिड्नेहरुको संख्या बढे सँगै गाउँ छोडेकालाई गाउँ फर्काउने अभियान थालिएको हो ।
स्थानिय पलायन भए पछि जिल्लाको सिद्धिचरण नगरपालिका–२ ठुलाछापमा उजाड बनेको थियो । उर्वर भूमी बाजो भएका थिए । सुनसान र उजाड भएकाले गाउँलाई फेरि हराभरा बनाउन त्यहाँका स्थानीयले ‘गाउँ फर्क’ अभियान चलाएका छन् ।
देशको काठमाण्डौ, ललितपुर, भक्तपुर, सुनसरी, इटहरी, विराटनगर, धरान लगायतका विभिन्न स्थानमा अस्थायी बसोबास गर्दै आएका चुहानछापबासी गाउँ फर्किन थालेका छन् । केही वर्ष देखी गाउँ छोडेर देशका विभिन्न ठाउँ र विदेश गएका समेत अहिले गाउँमै केही गर्नुपर्छ भनेर फर्कन थालेको कालिकादेवी बहु–उद्धेशीय कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष भुपेन्द्र बहादुर कार्कीले बताए ।
गाउँ फर्किएकाहरु सबै जुटेर पशुपालनका लागि फार्म बनाउने, तरकारी खेतीका लागि टनेल बनाउने लगायतका काम भइरहेको समूहका सह–सचिव पदम बहादुर कार्कीले बताए । अरुको देश र अरुको ठाउँमा गर्ने मेहनत–परिश्रम आफ्नै ठाउँमा गरे जे पनि सम्भव छ भन्ने सन्देश सहित कृषि कर्म गर्न स्थानीय जुटेर अहिले सामुहिक लगानीमा फार्म र टनेलहरु बनाउने काम भइरहेको उनले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र र सरोकारवाला निकायसँग समन्वय गरेर आवश्यक तालिम लिने काम भइरहेको समूहका सह–सचिव कार्कीले जानकारी दिए । फार्म तयार भए पछि जिल्लामै नमुना कृषि र पशुपालन व्यवसाय गर्ने योजना रहेको उनको भनाई छ ।
आफुहरुको योजनामा सहयोग गर्न वडा तथा नगरपालिकालाई पहल गर्ने काम भइरहेको उनी बताउँछन् । गाउँमै केहि गर्ने उद्धेश्य बोकेर गाउँ बनाउन शहरको सुख सुविधा छाडेर फर्किएको टोललाई जनप्रतिनिधि–स्थानीय तहको सहयोग र प्रोत्साहनको आवश्यक्ता रहेको उनको भनाई रहेको छ । गाउँ छोडेर गएकालाई विशेष अभियान र कार्यक्रम सञ्चालन गरेर फर्काउने काम भईरहेको वडा अध्यक्ष वसन्त कटुवालले बताए ।
प्रतिक्रिया