ओखलढुंगाको आफ्नो एफएमले १७ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालका विरामीलाई फलफूल वितरण गरेकाे छ । ओखलढुंगा सामुदायिक अस्पतालका विरामीलाई रेडियोले फलफूल वितरण गरेकाे हाे । यसका साथै कारागारका कैदीबन्दीलाई पनि फलफूल वितरण र विपन्नलाई आर्थिक सहयोग गरेको छ।
हरेक बर्ष बार्षिकोत्सवको अवसरमा सामाजिक काम गर्दै आएको एफएमले मंगलबार जिल्ला कारागार ओखलढुंगाका ७१ जना पुरुष र आठ जना कैदीबन्दी गरि कुल ७८ जनालाई फलफूल वितरण गरेको आफ्नो एफएमका श्टेशन म्यानेजर बिनुमाया राईले जानकारी दिइन् । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत ४० जना बिरामीलाई पनि फलफूल वितरण गरिएको छ ।
यस्तै उदयपुर जिल्ला स्थाई ठेगाना भई हाल सिद्धिचरण नगरपालिका–११ सोब्रुमा बस्ने सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययन दुई बालबालिकालाई नगद १० हजार र मेरुदण्ड पिडित सामुदायिक अस्पतालमा उपचाररत आर्थिक अवस्था कमजोर भएका एक पुरुषलाई नगद दुई हजार प्रदान गरिएको छ ।
आफ्नो एफएमले सञ्चारको क्षेत्रबाट आवाजविहिनहरुको आवाजलाई बुलन्द पार्ने कामसँगै सामुदायको हितको लागि समेत विभिन्न काम गर्दै आएकोले त्यसैको निरन्तरता स्वरुप बार्षिकोत्सवमा सहयोगका कार्यक्रम गरिएको रेडियोका संयोजक विजय कुमार मानन्धरले बताए ।
रेडियोले स्थापनाकाल देखि नै कारागारका कैदीबन्दी र अस्पतालका बिरामीलाई फलफूल वितरण गर्दै आएको स्मरण गराउँदै उनले त्यस बाहेक विपन्न, संरक्षणविहिन बालबालिका, कृषक, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई सम्मान एवम् सहयोग गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित सहयोगको कार्यक्रममा सहभागी हुँदै संविधानसभा सदस्य यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेत, पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाका उपाध्यक्ष रविन श्रेष्ठ, ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेल, अस्पतालका कर्मचारी लगायतले शुभकामना दिएका थिए ।
सामुदायिक रेडियो आफ्नो एफ एम १०४.८ मेघाहर्ज ओखलढुंगा २०६५ साल माघ १५ गते जिल्लामा स्थापना भएको हो । सातै प्रदेशमा रेडियो प्रसार गर्ने लक्ष्य अन्तरगत मानव विकास तथा सामुदायिक सेवा एचडिसीएसले डडेलधुरा, रुकुम, चितवन, जनकपुर, दाङ र ओखलढुंगा गरि हालसम्म छ वटा रेडियो सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया