ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ मा रहेको भगवती माध्यमिक विद्यालयले ‘बुक फ्री डे’ अर्थात पुस्तक रहित दिन कार्यक्रम सञ्चालन गरेको छ । चालु शैक्षिक शत्रको तीन दिन किताब भन्दा बाहिरको गाउँ समाज र संस्कार सँग सम्बन्धीत व्यवहारिक सीपहरु विद्यार्थीलाई सिकाउन ‘बुक फ्री डे’ कार्यक्रम सञ्चालन गरिएको हो ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको रुची अनुसार केश कटाई, धुवाँरहित चुल्हो निर्माण, चोया, पात, खर, मकैको खोसेला (खोस्टा) र परालबाट बन्ने विभिन्न सामग्री विद्यार्थीलाई बनाउन सिकाइएको प्रधानाध्यापक नारायण प्रसाद बास्तोलाले बताए ।
यस्तै बात्ती कात्ने, दाम्लो, नाम्लो, डोरी, पिरा, दुना, टपरी, ठहर, बोहती, डोको, पेरुङ्गोजस्ता सामग्रीहरू बुन्नु, उन्नु सिकाइएको प्रधानाध्यापक बास्तोलाको भनाई छ । आफ्नै घर तथा स्थानीय स्तरमा पाइने आवश्यक सामग्री, कैंची, काँगियो, चोया, पात, बाबियो, खर, खोस्टा, कपास र पुराना कागज लगायतबाट सामग्री निमार्ण गर्ने सीप विद्यार्थीहरुलाई दिइएको प्रधानाध्यापक बास्तोलाले जानकारी दिए । आगामी दिनमा संस्कार, व्यवहार साथै पाक कला सँग सम्बन्धीत सीपहरु विद्यार्थीलाई सिकाउने योजना रहेको प्रअ बास्तोलाले जानकारी दिए ।
बाल कक्षा देखि १२ सम्म पठन पाठन हुँदै आएको भगवती माध्यमिक विद्यालयमा करिब ६०० जना विद्यार्थी छन् । किताबी ज्ञान सँगै विद्यार्थीलाई व्यबहारिक सीप सिकाउन आवश्यक रहेको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । विद्यालयमा परम्परागतदेखि अत्याधुनिक प्रविधिका सीपहरू र ज्ञान दिलाउने विषयमा गाउँपालिकाले योजना बनाएर लागेको अध्यक्ष रुम्दालीको भनाई छ ।
प्रतिक्रिया