झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रूपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नगरपालिकाले यस्तो घोषणा गरेको हो ।
यसअघि दमक नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई मात्र सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको थियो । चालु आर्थिक वर्षदेखि नगरपालिका भित्रका सबै महिलालाई वर्षभरि नै सेनिटरी प्याड उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याइसकेको नगर प्रमुख राम कुमार थापाले बताए ।
सहरी स्वास्थ्य केन्द्रबाट महिलाले आवश्यकता परेको समयमा सहज रूपमा सेनिटरी प्याड लिन पाउने नगर प्रमुख थापाले जानकारी दिए । यसको कार्यविधि बनाएर व्यवस्थित र सहज बनाउँदै लैजाने पनि थापाले उल्लेख गरे । यो विषय महिलाको अधिकार र स्वास्थ्यसँग जोडिएकाले विशेष कार्यक्रमको रूपमा लिइएको थापाले बताए ।
संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक सुनिश्चित गरेकाले त्यसमा स्थानीय सरकारको दायित्व मानेर यो कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया