खोटाङको हलेसीमा सम्पन्न खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधी हलेसी तुवाचुङ नगरपालिका–७ ले जितेको छ । सोमबार उपाधीका लागि पद्मा स्पोर्टस क्लब ओखलढुंगा र हलेसी–७ बिच प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा ३-२ गोल अन्तरले हलेशी च्याम्पियन बनेकाे हाे । च्याम्पियन हलेसीले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेता ओखलढुंगाले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
सेमीफाइनलिष्ट भोजपुर नगरपालिका भोजपुर र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ खोटाङले प्रतिटिम २२ हजार २२२ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए।
बेष्ट प्लेयर बनेका हलेसीका खेलाडी प्रतिक्षा ठकुरीले १ हजार ५५५ रुपैयाँ प्राप्त गरेकी छन्। बेष्ट डिफेण्डर हलेसीका कर्सा ओली, बेष्ट मिडफिल्डर ओखलढुंगाकी खुस्मा राई,हाइ स्कोरर ओखलढुंगाकी सुक्रिया मिया, बेष्ट किपर हलेसीका सुजता तामाङ र बेष्ट कोच हलेसीका लोकेन्द्र केसी बने। उनीहरुले जनही १ हजार १११ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेता, उपविजेता र सेमिफाइनलिस्ट टिम सहित उत्कृष्ट खेलाडीलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई लगायतले ट्रफी, मेडल र नगद् पुरस्कार हस्तान्तरण गरेका छन् । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले महिला सशक्तिकणको लािग प्रतियोगिता आयोजना गरिएको बताइन् ।
हलेसी तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार देखी प्रतियोगिता सुरु भएको थियो ।
‘मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले उद््घाटन गरेका थिए ।
प्रतियोगितामा खोटाङ सहित ओखलढुंगा, भोजपुर लगायतका जिल्लाका गरि १६ टिम सहभागी भएका थिए ।
प्रतिक्रिया