खोटाङको हलेसीमा खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार देखी प्रतियोगिता सुरु भएको हो ।
‘मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले उद््घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खेलकुद क्षेत्रको विकाससँगै खोटाङका सडक संरचनाको विस्तार र मर्मतमा अन्य जिल्ला भन्दा बढी बजेट ल्याउने प्रतिवद्धता जनाए । बर्षातले क्षतिग्रस्त भएका सडक र पुलको विवरण पठाउन आग्रह गर्दै चाडै दिर्घकालिन मर्मतका लागि आफुले बजेट ल्याउन पहल गर्ने मन्त्री राईले प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले महिला सशक्तिकणको लािग प्रतियोगिता आयोजना गरिएको बताएकी छन् । खेलको माध्यमबाट महिलाहरु पनि सशक्त छन भन्ने औचित्य पुष्टि गर्न प्रतियोगिता सञ्चभालन गरिएको उनको भनाई छ ।
प्रतियोगितामा खोटाङ सहित ओखलढुंगा, भोजपुर लगायतका जिल्लाका गरि १६ टिमको सहभागीता रहेको छ । शनिबार भएको पहिलो खेल हलेसी तुवाचुङ नगरपालिका–७ र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेबिच भएको थियो । जसमा हलेसी–७ ले हलेसी–९ सल्लेलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
यस्तै पहिलाे दिन हलेसी तुवाचुङ नगरपालिका–७ केवासी हलेसी र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बिच भएको खेलमा बाहुनीडाँडाले हलेसी तुवाचुङ नगरपालिका–७ केवासी हलेसीलाई ३–० ले पराजित गरेको खेल संयोजक तथा हलेसी तुवाचुङ नगरपालिका–७ .का वडा अध्यक्ष कमल गिरीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १११ र द्वितीय हुनेले ५५ हजार ५५५ को साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै सेमिफाइनलिस्ट दुई टिमलाई २२ हजार २२२ का दरले ४४ हजार ४४४ प्रदान गरिने छ भने बिधागत रुप उत्कृष्ट हुने खेलाडीलाई पनि नगद सहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजक हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया