ओखलढुंगा केउरीनीको दलित बस्तीका घर घरमा खानेपानीको सुविधा पुगेको छ । सिद्धिचरण नगरपालिका–२ ठुलाछाप केउरीनीको दलित वस्तीका प्रत्येक घरमा खानेपानीको सुविधा पुगेपछि स्थानीय हर्षित भएका छन् ।
सिद्विचरण नगरपालिका, वडा कार्यालय, सहास नेपाल र स्वयंसेवी अभियान नेपालको आर्थिक सहयोग र स्थानीयको जनश्रमदान मार्फत खानेपानी आयोजना सम्पन्न भएको हो ।
धेरै वर्ष अघि देखि खानेपानीको समस्या झेल्दै आएका केउरीनीका नागरिकलाई घर घरमा पानीको धारा पुगेपछि सहज भएको वडा अध्यक्ष बसन्त कटवालले बताए । पहिले स्थानीयले पाईपबाट मात्रै ल्याएर अव्यवस्थित रुपमा खानेपानी उपभोग गर्दैै आएकोमा ट्यांकी र घरघरमा धारा समेत निर्माण भए पछि थप सहज भएको वडा अध्यक्ष कटवालको भनाई छ । वडाका नागरिककलाई सहज र सुविधाका लागि वडाले सम्बन्धीत निकायमा पहल पर्दै अन्य ठाउँमा रहेका खानेपानी लगायतका समस्या पहिचान गरि समाधान गर्न लागिपर्ने वडा अध्यक्ष बसन्त कटवालले बताए ।
खानेपानी वितरणलाई व्यवस्थित बनाइएको सहयोगी हातहरुको समूह (सहास) नेपालका स्वास्थ्य प्राविधिक बिनु बानियाले बताईन् ।
खानेपानी आयोजनाको कोशी प्रदेश सांसद प्रदिप सुनुवारले उद्घाटन गरेका छन् । जिल्लाको कति पय स्थानहरुमा अझै पनि खानेपानीको चरम अभाव रहेकोले त्यसको समाधानका लागि पहल भईरहेको प्रदेश सांसद सुनुवारले बताए ।
नगरपालिकाले नागरिकका आवश्यक्तालाई मध्यनजर गरि नीति, कार्यक्रम र बजेट ल्याएकोले आगामी दिनमा खानेपानी र विद्युत लगायतका बाँकी काम द्रुत गतिमा हुने कार्यक्रमा सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले बताए ।
खानेपानी आयोजनाबाट केउरीनीका २८ घर दलित परिवार लाभान्वित भएका छन् । करिब नौ लाख लागतमा योजना सम्पन्न भएको जनाईएको छ ।
प्रतिक्रिया