ओखलढुंगा राइजिङ कप सुरु भएको छ । शुभदिपावलीको अवसरमा ओखलढुंगा राइजिङ ओखलढुंगा र ओखलढुंगा युथ फाउन्डेसनको संयुक्त आयोजनामा भएको सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको हो ।
रेफ्रीलाई ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल, सबै सुरक्षा निकायका प्रमुखहरु र सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन् ।
पहिलो दिन सोमबार नक आउटको आधारमा भएका तीन वटा खेलमध्ये पहिलो खेलमा ज्यामिरे एफसीले आयोजक ‘बी’ लाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो खेलमा मोलुङ ढुस्के फुटबल क्लबले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको टिमलाई १–० ले पराजित गरेको थियो भने तेस्रो तथा अन्तिम खेलमा टाइगर एफसी रुम्जाटारले सल्लेरी एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने टिमले क्रमश नगद रु. ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र, २० हजार र १० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
२८ टिम सहभागी रहेको प्रतियोगितामा सोमबार तीन टिम भने बाहिरिएका छन् । प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुनेछ ।
खेल सिद्धिचरण नगरपालिका १२ मा स्थित खेल मैदानमा भइरहेको छ ।
प्रतिक्रिया