विश्व खाद्य सुरक्षा दिवसको अवसरमा ओखलढुंगाका उत्कृष्ट अगुवा कृषकहरुलाई सम्मान गरिएको छ । ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ भन्ने मूल नाराका साथ जिल्लामा शुक्रबार मनाइएको ४४ औँ विश्व खाद्य दिवसको अवसरमा प्रत्येक पालिकाबाट एक–एक जना गरि आठ जना कृषहरुलाई सम्मान गरिएको हो ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाको आयोजनामा भएको दिवस विशेष कार्यक्रममा आठ जना कृषकहरुलाई जनही तीन हजार सहित सम्मान–पत्रद्वारा सम्मान गरिएको केन्द्र प्रमुख टिका बानियाले बताए । व्यवसायिक कृषि कर्ममा लागेर उत्कृष्ट काम गर्दै आएका किसानहरुको प्रोत्साहनको लागि सम्मान गरिएको उनको भनाई छ ।
सम्मानित हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका–२ का चुनक बहादुर कटवाल क्षेत्री, सुनकोशी गाउँपालिका–१ का शंकरनाथ पराजुली, लिखु गाउँपालिका–४ का सुरज पाण्डे र मानेभन्ज्याङ गाउँपालिका–४ का नारायण प्रसाद राई रहेका छन् । यस्तै खिजीदेम्बा गाउँपालिका–२ का लाल बहादुर रोका, चिशंखुगढी गाउँपालिका–३ की अनिता मगर, मोलुङ गाउँपालिका–८ का गोविन्द राई र चम्पादेवी गाउँपालिका–३ का खड्ग बहादुर खत्री रहेको केन्द्रले जनाएको छ ।
सम्मानित हुनेलाई कोशी प्रदेश क्षेत्र नम्बर ख का सांसद बाबुराम गौतमलगायत अतिथीहरुले नगद, खादा र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइन्छ । तर अक्टोबर १६ मा यसबर्ष दसैँ पर्व परेकोले अक्टोबर महिनाभर मनाउन सकिने मन्त्रालयको निर्देशन अनुसार केन्द्रले शुक्रबार कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रदेश सांसद गौतम सहित ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल, जिल्ला समन्वय समिति उप–प्रमुख तारा कार्की, सिद्धिचरण नगरपालिका मेयर तेजेन्द्र खनाल, सरकारी तथा गैह्र सरकारी कार्यालय संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधि पत्रकार, कृषक लगायत सरोकारवालाको उपस्थिती थियो ।
प्रतिक्रिया