बिस्पोटक पदार्थ पटकाको आयात, बिक्री र प्रयोग रोक्न ओखलढुंगा प्रहरीले विशेष ‘पेट्रोलिङ’ गस्ती बढाएको छ । तिहारको समयमा पटकाजन्य बिस्पोटक पदार्थ र सामाग्रीहरुको तस्करी हुने भएकाले जिल्ला प्रवेश हुने नाका र पसलहरुमा प्रहरीले चेकजाँचमा कडाई गर्न थालेको हो ।
पटकाले वातावरण प्रदुषित हुने, ध्वनी प्रदुषण बढ्ने, आगलागीको जोखिम हुने र मुटुरोगी लगायतलाई गम्भीर असर गर्ने भएकाले यसको आयात, बिक्री र प्रयोग रोक्न प्रहरीले नियमित अनुगमन गरिरहेको जिल्लाप्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक कृष्ण ख्काले बताए ।
विगतका बर्षहरुमा पटका र आतिसबाजीका कारण आगलागी भई जनधनको क्षति भएका घटना भएकाले त्यस प्रकारको क्षति रोक्न प्रहरीले सक्रियता बढाएको हो । कानुन अनुसार पटका लगायतका बिस्पोटक पदार्थ ओसारपसार, भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भएकाले कानुन विपरितका गतिविधि गर्ने जो कोहीलाई कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
यसैबिच तिहारलाई शान्तिपुर्ण र सौहार्द बनाउन बर्दीधारी र सादा पोशाकमा गरी चार सय बढी प्रहरी खटिएका छन् ।
चाडपर्वका बेला झन बढ्न सक्ने लुटपाट, चोरी, तस्करी, सवारी दुर्घटना, पटका तस्करी, कालोबजारी, झै–झगडा तथा हिंसात्मक घटनाहरु हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी अहोरात्र खटिइरहेकाले आम नागरिकलाई पनि सतर्ककता अपनाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।
प्रतिक्रिया