ओखलढुंगामा तिहार पर्वलाई लक्षित गरि बजार अनुगमन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन गरेको हो ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने, कृतिम अभाव सिर्जना गर्ने लगायतका समस्या देखिने गरेकाले अनुगमनलाई प्रशासनले थप सक्रिय बनाएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत तथा अनुगमन टोलीका संयोजक अनुप पौडेलले बताए ।

प्रशासकीय अधिकृत पौडेलको संयोजकत्वमा खटिएको अनुगमन टोलीले शुक्रबार सिद्धिचरण नगरपालिका–११ मिलनचोक क्षेत्रका होटल तथा किराना पसल गरि ५ वटा पसलमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पाँच हजार ४१० रुपैया मुल्य बराबरको म्याद गुज्रेको अखाद्य सामाग्री जफत गरि नष्ट गरिएको प्रशासकीय अधिकृत तथा अनुगमन टोलीका संयोजक पौडेलले जानकारी दिए ।
म्याद गुज्रिएका अखाद्य वस्तु उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले क्रेता र विक्रेतालाई म्याद भएका गुणस्तरीय सामाग्री मात्र खरिद–विक्री गर्न प्रशासनले आग्रह गरेको छ । चाडपर्व लक्षित अनुगमनलाई सदरमुकाम, बजार क्षेत्र र ग्रामीण क्षेत्रमा सक्रिय बनाउने प्रशासनले जनाएको छ ।

म्याद गुज्रिएका अखाद्य वस्तु विक्री गर्ने, बढी मूल्य लिने, मूल्य सूची नराख्ने, कृतिम अभाव सिर्जना गर्नेलाई अनुगमनका क्रममा कारवाही हुने भएकाले सचेत भएर गुणस्तरी सामान मात्र खरिद विक्री गर्न प्रशासनले जिल्लाका व्यापारी तथा उपभोक्तामा आग्रह गरेको छ ।
सदरमुकामका ब्यापारी र उपभोक्तामा सचेतना बढेसँगै अखाद्य सामाग्री भेटिने क्रम घटेको तर ग्रामीण क्षेत्रमा अझै बढ्दो रहेकाले आगामी दिनमा ग्रामीण क्षेत्रको अनुगमनलाई जोड दिने प्रशासनले जनाएको छ ।
शुक्रबारको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, ओखलढुंगा उद्योग वाणिज्य संघ, सिद्धिचरण नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी साथै पत्रकार लगायतको सहभागीता थियो ।
प्रतिक्रिया