जिर्ण कारागारमा कोचाकोच कैदीबन्दी

जिर्ण कारागारमा कोचाकोच कैदीबन्दी



जिल्ला कारागार ओखलढुङ्गामा नयाँ बनेको भवनमा सुरक्षा पर्खाल नबन्दा कैदीबन्दीलाई बस्न समस्या भएको छ । नयाँ बनेको कारागार भवनको सुरक्षा पर्खाल नबन्दा अहिले सम्म प्रयोगमा आएको छैन । नयाँ भवन रित्तै छ भने पुरानो जिर्ण कारागारमा काेचाकाेच कैदीबन्दी राखिएको छ । भवनकाे क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी छन् ।

कारागारको क्षमता महिला पुरुष गरि ३० जनाको भए पनि अहिले ९८ जना कैदीबन्दी राखिएको छ । करिब एक वर्ष अघि निर्माण गरिएको महिला कारागार भवन प्रयोगमा नआउदा र क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा निकै समस्या हुने गरेको कारागार प्रमुख लेखनाथ दाहाल बताए ।

नवनिर्मित भवनको सुरक्षा पर्खाल नहुदा कैदीबन्दीलाई स्थान्तरण गर्न नसकिएको प्रमुख दाहालको भनाई छ । हाल कारागारमा महिला कैदीबन्दी आठ र पुरुष कैदीबन्दीको संख्या ९० रहेको प्रमुख दाहालले जानकारी दिए ।

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा सुत्न, बस्न, खान, शौचालयको प्रयोग लगायत अन्य व्यवस्थापनमा समस्या हुने गरेको बताईएको छ । पुरानो कारागार भवन २०७२ सालको भूकम्पले चर्किएको र सुरक्षा पर्खाल पनि जिर्ण भएकाले त्यहाँ राखिएका कैदीब्नदीलाई जोखिम हुने गरेको छ ।

कारागार व्यवस्थापन विभागले ५० लाख ४५ हजार ७१३ को लागतमा महिला बन्दीका लागि सुविधा सम्पन्न नयाँ कारागार भवन निर्माण गरि दिएको थियो । उक्त भवनमा सुरक्षा पर्खाल बन्न बाँकी छ । २०८० असारमै निर्माण सम्पन्न भएको कारागारमा बजेट अभावका कारण सुरक्षा पर्खाल नबनेको कार्यालयले जनाएको छ ।

पछिल्लो समय पर्खाल निर्माणका लागि बजेट परेको र निर्माणका लागि ठेक्का सम्झौता भएको प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले बताए । हाल कारागारमा देखिएको समस्या चाढै केही हद सम्म समाधान हुने प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।