विपद् प्रभावित तीन स्थानिय तहले ५०/५० लाख राहत पाउने

विपद् प्रभावित तीन स्थानिय तहले ५०/५० लाख राहत पाउने


भिजन समाचार
2.6k
Shares

ओखलढुंगामा बाढी पहिरोका कारण विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका तीन वटा स्थानिय तहले ५०/५० लाख राहत अनुदान पाउने भएका छन् । सरकारले शुक्रबार विपद् प्रभावित पालिकाहरूलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकालाई सामान्य प्रभावित पालिकाको रुपमा वर्गिकृत गरिएको छ । जिल्लाका यी तीन स्थानिय तहलाई ५०/५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय भएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति संयोजक डा. नारायण ढकालले बताए । उक्त सहयोग रकम प्राप्त भएपछि राहत, पुर्नस्थापना र पुनः निर्माणमा खर्च गरिने संयोजक ढकालले बताए ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १० देखि १३ गतेसम्मको अविरल वर्षा पछिको बाढी पहिरो तथा डुबानबाट प्रभावित २० जिल्लाका ७१ पालिकालाई तत्काल राहत, पुनर्निर्माण र पुनर्स्थापनाका लागि ४३ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । बाढी पहिरोले ओखलढुंगाको सुनकोशी गाउँपालिकामा ५०० रोपनी धान खेतमा क्षति गरेको थियो भने चम्पादेवीमा ४२ घर डुबानमा परेका थिए ।
यस्तै मानेभन्ज्याङ गाउँपालिकाको पनि नदि तटिय क्षेत्रका विभिन्न स्थानमा क्षति भएको थियो । बाढी पहिरोले समग्रमा जिल्लामा छ करोड बराबरको क्षति भएको प्रारम्भीक विवरण रहेको जिल्ला विपद व्यवस्थापन समिति ओखलढुंगाले जनाएको छ ।