ओखलढुंगा प्रहरीले ६९ औँ प्रहरी दिवस विविध कार्यक्रम गरेर मनायो

ओखलढुंगा प्रहरीले ६९ औँ प्रहरी दिवस विविध कार्यक्रम गरेर मनायो


भिजन समाचार
1.4k
Shares

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले विविध कार्यक्रम गरि ६९ औँ प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा ओखलढुंगा प्रहरीले एक महिनासम्म खेलकुद प्रतियोगिता, वृक्षारोपण, सरसफाई लगायत जनचेतनामुलक र सिर्जनात्मक कार्यक्रम गरेको हाे ।

बुधबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरि शोक सलामी अर्पण गरिएको थियो । यस्तै अमर प्रहरी परीवारका चार जनालाई सम्मान गरिएको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तथा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले जिल्लामा शान्ति सुरक्षा, सुशासन र अमनचयन कायम राख्न प्रहरीको भूमिका महत्वपुर्ण रहेकोले आगामी दिनमा थप प्रभावकारी कार्यसम्पादनको लागि निर्देशन दिए । पुरस्कृत हुने गरि काम गर्न प्रजिअ डा. ढकालले प्रहरी युनिटहरुलाई पनि निर्देशन दिएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण खडकाले दिवसलाई कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका सहिदहरुको सम्मान र सम्झना गर्ने दिनको रुपमा लिइने गरिएको बताएका छन् ।

प्रहरीको एक्लो प्रयासले मात्र समुदायमा अपराध नियन्त्रण, सुशासन र शान्ति सुरक्षा कायम राख्न चुनौति हुने भएकाले प्रहरीलाई सबैको सहयोग महत्वपूर्ण हुने उनको भनाई छ ।

दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी ढकाल, दुर्गा वक्स गण ओखलढुंगाका गणपति विजय प्रकास आङ्देम्बे, जिल्ला प्रहरी प्रमुख खड्का, सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुंगाका प्रमुख एवम प्रहरी नायव उपरीक्षक प्रभात कुमार गौतम लगायतका अतिथिले पुरस्कार हस्तान्तरण गरेका थिए ।

दिवसकै अवसरमा उत्कृष्ट प्रहरीलाई नगद पुरस्कार, प्रहरी सन्तति मध्येका उत्कृष्ट जेहेन्दार विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको थियो भने प्रहरीलाई सहयोग गर्ने संघ–संस्थालाई पनि सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।