ओखलढुंगा सदरमुकाममा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल फेरी बढ्न थालेको छ । दसैँमा केही सुनसान देखिएको सदरमुकाममा सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या बिस्तारै बाक्लिन थालेको हो ।
सोमबारबाट दसैँ बिदा सकिएपछि सरकारी कार्यालय तथा निकायहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्राही आउन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय सहित जिल्ला स्थित सरकारी कार्यालय र निकायबाट नियमित सेवा प्रवाह सुरु भएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले जानकारी दिए । प्रशासनबाट पनि राहदानीको अनलाइन सेवा बाहेक सबै सेवा सञ्चालन भइरहेको छ । केन्द्रीय सर्भरमा समस्या आउँदा राहदानीको अनलाइन सेवा भने अवरुद्ध रहेको छ ।
जिल्ला प्रशासनमा सेवाग्राहीको संख्या केही देखिए पनि अन्य सरकारी कार्यालयहरु भने सुनसान देखिन्छन् । अन्य बर्ष भन्दा यस बर्ष दसैँ बिदा पछि कार्यालयमा सेवाग्राहीको चाप त्यति धेरै नरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । बाढी पहिरोको कारण बाटोको दुरावस्थाका कारण दसैँ लगत्तै कार्यालयहरु खुल्दा पनि सेवाग्राहीको चाप नरहेको हो । विगतका बर्षमा भने चाडपर्व बिदा पछि कार्यालय खुल्दा सेवाग्राहीको भिड लाग्ने गरेको थियो । यो बर्ष भने न्यून संख्यामा सेवाग्राही देखिएका छन् ।
यसैबिच दसैँमा टिका, जमरा र आशिर्वाद ग्रहण गरेर कर्मथलो फर्किने र गाउँबाट सदरमुकाम आउने जाने क्रम बढेसँगै सडकमा सवारी चाप भने बढ्दो अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दसैँ मनाउन करिब १५ हजारको हाराहरीमा मानिसहरु जिल्ला भित्रिएकोमा अहिले बाहिरिनेको चाप बढ्दो रहेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ ।
प्रतिक्रिया