खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाले पानीजन्य रोगको प्रकोपबाट बच्न पानी शुद्धिकरण र निर्मलीकरण गरेर मात्र पिउन आग्रह गरेको छ ।
असोज १० गते देखि १३ गतेसम्मको अविरल बर्षाका कारण जिल्लाको ठाउँ–ठाउँमा बाढी पहिरो जाँदा खानेपानीको स्रोत र मुहान दुषित भएकाले यो बेला झन धेरै पानीजन्य रोगको जोखिम भएकाले पानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएको हो ।
दुषित पानीको सेवनबाट जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ७ टोक्सेल र हर्कपुर क्षेत्रमा झाडापखाला र ज्वरोका बिरामी बढेको छन् । पानी शुद्धिकरणका विभिन्न उपाय, उपकरण र प्रविधि रहेकाले पानीलाई किटाणु रहित बनाएर मात्र सेवन गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाका निमित्त डिमिजन अधिकृत राजकुमार मण्डलले आग्रह गरेका छन् ।
पानीलाई उमालेर, फिल्टर गरेर, क्लोरिल झोल मिसाएर वा सोडिस विधिबाट किटाणुरहित गरेर मात्र सेवन तथा प्रयोग गर्न उनले सुझाव दिएका छन् । यस्तै सरसफाईमा पनि विशेष ध्यान दिन कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया