सुनकोशीको बाढी प्रभावित क्षेत्रमा पुगे प्रजिअ र अध्यक्ष, धानखेत मर्मतमा पालिकाले सहयोग गर्ने

सुनकोशीको बाढी प्रभावित क्षेत्रमा पुगे प्रजिअ र अध्यक्ष, धानखेत मर्मतमा पालिकाले सहयोग गर्ने


भिजन समाचार
954
Shares

ओखलढुंगाको सुनकोशीमा बाढीले बगाएको खेत बनाउन गाउँपालिकाले किसानलाई सघाउने भएको छ । असोज ११ र १२ गतेको भारी बर्षातका कारण जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर १ र २ बलखु तथा वडा नं. ४ सिस्नेरीमा पाक्न लागेको धानबाली र धानखेत बगाउँदा लाखौँको क्षति भएको थियो ।

बिहीबार ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण खड्का सहित जिल्ला स्थित सुरक्षा निकाय र गाउँपालिका अध्यक्ष कमल तामाङ तथा सुनकोशी गाउँपालिका–१ बलखुका वडा अध्यक्ष प्रकाश सापकोटा लगायतको टोलीले बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्षले तामाङले स्थानीयलाई आफुहरुको समस्या र माग राख्न आग्रह गरेका थिए । स्थानीयले केहीलाई तत्कालको लागि खाद्यान्न लगायत राहतको आवश्यक रहे पनि बगेको खेत फेरि पहिले जस्तै बनाउन पालिकाले सहयोग गर्नुपर्ने माग राखेका थिए । किसानका कुरा सुनिसकेपछि गाउँपालिका अध्यक्ष तामाङले प्रधानमन्त्री स्वरोजगारबाट या अरु जुनकुनै किसिमबाट खेत बनाउन पालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै तत्कालको लागि राहत आवश्यक पर्ने स्थानीयलाई वडाले विवरण उपलब्ध गराउने वित्तिकै राहत सामाग्री प्रदान गर्ने बताए । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी ढकालले क्षतिको अवस्थाबारे यथासिघ्र माथिल्लो निकायमा आफुले जानकारी गराएर पिडामा रहेका किसानलाई यथासक्य चाडो राहत र सहयोग उपलब्ध गराउनेबारे पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

अविरलको बर्षातले जिल्लामा पुर्याएको क्षतिको स्थलगत रुपमा अनुगमन गर्ने काम भइरहेको प्रजिअ ढकालले बताएका छन् ।