ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा ८४ वर्ष उमेर कटेका १३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा नं. १२ मा जेष्ठ नागरिकहरुलाई नगद र पोषिलो खानेकुरा हस्तान्तरण गरेर सम्मान गरिएको हो ।
‘सम्मानित बुढ्यौली ः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सबलीकरण’ भन्ने नारासहित जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सिद्धिचरण नगरपालिका–१२ को आयोजना, नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको समन्वयमा सम्मान र सचेतनामूलक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेतले जेष्ठ नागरिकहरु समाजका धरोहर, अनुभवका खानी, जिउँदो इतिहास र भावी पुस्ताका लागि मार्गनिर्देशक रहेकाले उनीहरुका अनुभव तथा सुझावहरु सिरोपर गर्दै सभ्य समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
यस्तै वृद्धावस्थामा नियमित स्याहार र आदर–सम्मानमा परिवार र समुदाय चुक्न नहुने उनको भनाई थियो ।
कार्यक्रमका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रतिनिधि प्रहरी नायव निरीक्षक दुर्गा खनालले जेष्ठ नागरिकले पाउनुपर्ने स्याहार, सेवा, सुविधा, छुट र प्राथमिकताका बारेमा जानकारी गराएका थिए ।
परिवार, आफन्त लगायतले आवश्यक हेरचाह स्याहार नगरेमा, दुव्यवहार तथा कुटपिट गरेमा मानसिक, शारिरीक, आर्थिक वा अन्य रुपमा तनाव दिएमा प्रहरी, पालिका र वडा समक्ष उजुरी गर्न सकिनेबारे सचेत गराएका थिए ।
यस्तै जेष्ठ नागरिकले आफुमाथि भएको अत्याचारबारे उजुरी गर्न सकिने र कसुर ठहरेमा कानुन अनुसार कसुरदारलाई पाँच बर्षसम्म कैद वा बिगो जरिवाना वा दुवै सजाय हुनेतर्फ सचेत गराउँदै आफुमाथि कुनै दुव्र्यवहार भएमा, परिवार सन्तानले हेरचाह–स्याहार नगरेमा र अन्याय गरेमा सहेर नबस्न प्रहरीले आग्रह गरेको छ ।
कार्यक्रममा १३ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै पोषिलो खानेकुरा हर्लिक्स र केही नगद समेत प्रदान गरिएको जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र ओखलढुंगाका अध्यक्ष ध्रुवकुमार राजभण्डारीले बताउनुभएको छ ।
जीवनभर परिवार र समाजका लागि योगदान पुर्याृने जेष्ठ नागरिकहरुको कदर गर्दै गत बर्ष देखि केन्द्रले जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको उनको भनाई छ । यस किसिमको कार्यक्रमलाई सम्बन्धित निकायसँगको सहकार्यमा नियमित सञ्चालन गरिने अध्यक्ष राजभण्डारीले बताएका छन् ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत, नगरपालिकाका कर्मचारी, संस्थापक मेयर मोहन कुमार श्रेष्ठ, प्रनानि खनाल, सिद्धिचरण नपा–१२ का वडा अध्यक्ष उमंग श्रेष्ठ, केन्द्रका पदाधिकारी लगायत सरोकारवालाको सहभागीता थियो ।
ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि जिल्लामा विभिन्न कार्यक्रमहरु भएका छन् ।
प्रतिक्रिया