ओखलढुंगामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

ओखलढुंगामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन


भिजन समाचार
2.6k
Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि यात्रु सहायता कक्षा सञ्चालनमा गरेको छ । चाडपर्वका समयमा यात्रुहरुलाई विभिन्न किसिमको समस्या हुन सक्ने भएकाले यात्रुको सहजताका लागि सिद्धिचरण नगरपालिका–११ रमाईलो डाडाँमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

सहायता कक्षको उद्घाटन गर्दै दशैँ लगायतका चाडपर्वमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै यात्रुको सहायताका लागि उक्त कक्षा सञ्चालन गरिएकोले कुनै किसिमको समस्या वा गुनासो भएमा तत्काल जानकारी गराउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले आग्रह गरेका छन् ।

चाडपर्वको समयमा सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका गतिविधि हुने भएकाले त्यसको न्यूनीकरणका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख एमव प्रहरी नायब निरीक्षक आशिष काफ्लेले बताए ।

जिल्लाको विभिन्न स्थान हुँदै भित्रिने र बाहिरिने सवारीसाधनहरुमा सवार गर्ने यात्रुहरुलाई तोकिएको दर रेट भन्दा बढी भाडा असुल भएमा, यात्रा गर्दा आफ्नो सामानहरु हराएमा वा छुटी जाने भएमा, टिकट बुकिङ्ग भएको अवस्थामा यात्रु अलपत्रमा परी आफुले टिकट बुकिङ्ग गरेको सवारी साधन छुटेमा यात्रुले सहायता कक्षमा तत्काल खबर गर्न प्रहरी नायब निरीक्षक काफ्लेले अनुरोध गरेका छन् ।

यात्रा गर्दा यात्रुहरुको बहुमुल्य सामानहरु चोरी, लुटपाट भएमा वा हराएमा, कुनै पनि व्यक्तिबाट दुव्र्यवहार भएमा, महिलाहरु माथि कुनै पनि किसिमले यौनजन्य दुव्र्यवहार भएमा पनि उजुर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।