ओखलढुंगामा २४ घण्टामा १०५ मिलिमिटर वर्षा, जताततै बाढी–पहिरो, सबै सडक अवरुद्ध

भिजन समाचार
52
Shares

ओखलढुंगामा धेरै भारी बर्षा भएको छ । जल तथा मौसम विज्ञान ओखलढुंगा फिल्ड कार्यालयका अनुसार जिल्लामा बितेको २४ घण्टामा जिल्लामा १०५ मिलिमिटर बर्षा मापन भएको छ । बर्षा मापन केन्द्र ओखलढुंगामा शुक्रबार बिहान ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म १०५ मिलिमिटर बढी बर्षा भएको हो ।

यस्तै मानेभञ्ज्याङमा रहेको बर्षा मापन केन्द्रमा रेकर्ड भएको विवरण अनुसार गत २४ घण्टामा ७९.४ मिलिमिटर बर्षा मापन भएको छ ।

२४ घन्टामा भएको कुल वर्षालाई गरिने वर्गीकरण अनुसार १० मि.मि. भन्दा कम भएमा हल्का वर्षा, १० वा सो भन्दा बढि तर ५० भन्दा कम भएमा मध्यम वर्षा भन्ने गरिन्छ ।

५० वा सो भन्दा बढि तर १०० भन्दा कम भएमा भारि वर्षा भन्ने गरिन्छ भने १०० वा सो भन्दा बढि तर २०० मि.मि भन्दा कम भएमा धेरै भारी वर्षा भएको भन्ने गरिन्छ ।

यस्तै २०० मि.मि भन्दा बढि भएमा अति भारी वर्षा भन्ने गरिन्छ ।

वर्षाका कारण जिल्लाका विभिन्न स्थानहरुमा बाढी पहिरो जान सक्ने भएकाले सतर्क अपनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले अनुरोध गरेको छ । दुधकोशी नदीले रबुवाबजार बाढीमापन केन्द्रको तथ्याङ्क अनुसार जलसतह सतर्कता तह पार गरेको छ ।

सुनकोशी नदीमा पानीको वहाब बढेको छ । मोलुङ खोला, लिखु नदी लगायत अन्य साना तथा ठुला नदी खोला आसपासमा बसोबास गरिरहेका नागरिकलाई सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

लगातारकाे पानीले जिल्लाभर पहिराेकाे जाेखिम बढेकाे छ । केही स्थानमा पहिराेले क्षति गरेकाे छ । सडकमा पहिराे जाँदा यातायात अवरुद्ध छन् ।