महाधिवेशन प्रतिनिधी दाहालको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

महाधिवेशन प्रतिनिधी दाहालको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान



ओखलढुंगाको मोलुङ गाउँपालिका–४ का विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । मोलुङ गाउँपालिका–४ को पाँच वटा आधारभूत तहका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण वितरण गर्ने गरि सहयोग प्राप्त भएको हो ।

वडा अध्यक्ष तथा नेपाली काँग्रेस मोलुङ–४ का वडा सभापति भोलाराज राई लगायत काँग्रेस नेताहरुको पहलमा नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधी हरि दाहालले वडाको पाँच वटा आधारभूत विद्यालयका विद्यार्थीका लागि ६६० थान कापी, पेन्सिल र इरेजर प्रदान गरेका थिए ।

काँग्रेस नेता तथा समाजसेवी दाहालबाट प्राप्त शैक्षिक सामाग्री वितरण सुरु गरिएको वडा अध्यक्ष राईले जानकारी दिए । विहिबार वडाको सिंहदेवी आधारभूत विद्यालय मानेगाउँका ३३ जना र जाल्पादेवी आधारभूत विद्यालय घलेगाउँका १२ जना गरि ४५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

बाँकी रहेका विद्यालयहरु बेली–चमेली आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र ग्रामीण विकास आधारभूत विद्यालयका विद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण हुने वडा अध्यक्ष राईले जानकारी दिए ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने वडाको योजनामा सहयोग गरेकोमा दाता दाहाललाई वडा अध्यक्ष राईले धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।