जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पालिकामै पुगेर विभिन्न कार्यक्रम गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वयमा कार्यालयको सेवा प्रवाहसँगै शान्ति सुरक्षाको बिषयमा पालिकास्तरमा छलफल भइरहेको छ ।
मंगलबार पनि जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक कृष्ण खड्का सहित सबै सुरक्षा निकायको टोली पुगेर विविध विषयमा छलफल गरेका हुन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीसँग नागरिकता र अन्य सेवा प्रवाहमा थप सहजताका लागि जिल्ला प्रशासनले गर्नुपर्ने सुधार र पालिकामा रहेका समस्याका बिषयमा छलफल गरिएको प्रजिअ ढकालले बताए ।
यस्तै जिल्लाको शान्ति सुरक्षा, चाडपर्व लक्षित सुरक्षा योजना, अपराध नियन्त्रण, आत्महत्या रोकथाम, दुर्घटना न्यूनीकरण लगायतको बिषयमा पनि आवश्यक छलफल गरिएको उनको भनाई छ ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अपराध न्यूनिकरणका लागि भइरहेका काम र पालिकाले गर्नुपर्ने समन्वय सहयोगका बारेमा जिल्ला प्रहरी प्रमुख कृष्ण खड्काले प्रस्तुतीकरण दिएका थिए । प्रशासनको अगुवाईमा कार्यक्रम नियमित सञ्चालन भइरहेको उनले जानकारी दिए ।
जिल्ला प्रशासनको सेवा प्रवाहबारे विभिन्न जानकारी सहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले प्रस्तुतिकरण दिएका थिए ।
छलफल कार्यक्रममा उठेका विभिन्न प्रश्नको प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी प्रमुख खड्का, अन्य सुरक्षा निकाय प्रमुखहरु र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पौडेलले सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिकास्तरमै आएर नागरिकका समस्या बुझ्ने प्रशासनको कामको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले प्रशंसा गरेका थिए भने यस किसिमका कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा उनले जोड दिएका छन् ।
प्रतिक्रिया