पर्यटकीय स्थल पोकलीमा युवाले राखे मार्गनिर्देश बोर्ड

पर्यटकीय स्थल पोकलीमा युवाले राखे मार्गनिर्देश बोर्ड



नेपालकै चर्चित र दाेश्राे अग्लो झरना ओखलढुंगाको पोकली झरना जाने आउने पर्यटकको सहजताका लागि युवाहरुले मार्गनिर्देश बोर्ड राखेका छन् । ओखलढुंगाको लिखु गाउँपालिका–९ वाच्पुमा रहेकाे पर्यटकीय पोकली झरना जाने बाटोको मुख्य नाकाहरुमा पर्यटकको सहजताका लागि हिमचुली जनजागरण युवा क्लवका युवाहरुले मार्गनिर्देश बोर्ड राखेका हुन् ।

पोकली झरना घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बाटो देखाउन क्लवले विभिन्न बाटो, नाकाहरुमा मार्गनिर्देश बोर्ड राखिएको क्लवका अध्यक्ष एवम् कलाकार अर्जुन घिमिरेले बताए । पोकली जाने बाटो थाहा नपाएर पर्यटकले सास्ती भोग्न नपरोस भन्ने उद्देश्यले करिब १५ हजार लागतमा विभिन्न नाका, दोबाटोहरुमा चार वटा बोर्ड राखिएको घिमिरेले जानकारी दिए ।

लेतीडाँडा, वाच्पुको पिङडाँडा, पोकली झरना नजिकै पिकनिक स्पट छेउमा र मुख्य प्रवेशद्वार नजिकै ‘साइनबोर्ड’ राखिएको छ । युवा क्लवको अभियानमा सिंहदेवी कन्स्ट्रक्सनले आवश्यक सिमेन्ट र फलामको पाईप उपलब्ध गराएको क्लवले जनाएको छ ।

पोकली झरना देशकै १०० पर्यटकीय गन्तव्य मध्येकाे एक हो । यहाँ दैनिक ५० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गरेको क्लवका सदस्य सोम खड्काले बताए । १३० मिटर अग्लो पोकली झरनाको मनोरम दृश्य हेर्न रामेछाप, दोलखा, सिन्धुली, सोलुखुम्बु लगायत देशका विभिन्न जिल्ला र विदेशी नागरिकहरु आउने गरेका छन् । क्लवले समाजमा युवा जागरण अभियान पनि सञ्चालन गर्ने गरेको हो ।