ओखलढुंगामा माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परिक्षा दिएकामध्ये ८९.६८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । सोमबार सार्वजनिक भएको नतिजा अनुसार मौका परिक्षामा सहभागी जिल्लाका एक हजार ९५ जनामध्ये ९८२ उत्तिर्ण भएका हुन् । ११३ जना अनुत्तिर्ण भएका छन् ।
अनुत्तिर्ण भएका ११३ मध्ये ७५ जनालाई एक बिषय, नौं जनालाई दुई बिषय, १६ जनालाई तीन बिषय, तीन जनालाई चार बिषय, छ जनालाई पाँच बिषय र तीन जनालाई छ बिषय र एक जनालाई सातै वटा बिषय लागेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका सूचना अधिकारी बिष्णु प्रसाद कँडेलले जानकारी दिए ।
यस्तै मौका परिक्षा दिएका प्राविधिक धारका ३३ मध्ये ३१ जना उतीर्ण भएका छन भने दुई जना अनुत्तिर्ण भएका छन् । मौका परिक्षा दिदा पनि एउटा बिषय देखि सबै बिषयमा अनुत्तिर्ण विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुन नपाउने उनको भनाई छ । उनीहरुले आउँदो (एसईई) परिक्षामा लागेको बिषयमा मात्र परिक्षा दिनुपर्नेछ ।
अनुत्तिर्ण भएका विद्यार्थीहरुले यस अघि कक्षा ११ मा भर्ना भइसकेको भए त्यसलाई राष्ट्रिय परिक्षा बोर्डले मान्यता नदिने र अब उनीहरुले कक्षा ११ पढ्न आउँदो (एसईई) मा आफुलाई लागेका अर्थात अत्तिर्ण भएका बिषयमा परिक्षा दिएर उतीर्ण गरेपछि मात्रै भर्ना हुन पाउनेछन् ।
वि.सं २०८० को एसईई परिक्षामा साधारण धार र प्राविधिक धारतर्फ गरि दुई हजार चार सय ४४ जना विद्यार्थी मध्ये ११ सय ८४ विद्यार्थी फेल भएका थिए भने ५१.५५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । मौका परिक्षामा अधिकांश विद्यार्थी उत्तिर्ण हुनुलाई सकारात्मक रुपमा लिइएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया