ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा अपाङ्गता भएकाहरुको लागि पुनस्र्थापना केन्द्र निर्माण हुने भएको छ । मंगलबार खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा र उपाध्यक्ष सुशीला तामाङ्गले निर्माण हुने पुनस्र्थापना केन्द्र (कोशेली घर) को सिलान्यास गरेका छन् ।
वडा नं.५ खिजीफलाटे बजार नजिकै ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत पुनस्र्थापना कोष र खिजीदेम्बा गाउँपालिकाको लागत साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई राख्न केन्द्र बनाउन लागिएको हो ।
केन्द्रको सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले केन्द्र निर्माण भएर सञ्चालनमा आएपछि पूर्ण अशक्त अपाङ्गता भएका, अति अशक्त अपाङ्गता भएका, संरक्षक र साथै अभिभावक नभएका अपाङ्गता भएका व्यक्तिहरुको लागि आवास साथै उनीहरुले आर्जन गरेका विभिन्न सीप र तालिमहरुको माध्यमबाट उत्पादन गरेका सामग्रीहरुको बिक्री वितरण कक्ष समेत सञ्चालन गरिने बताए । यसका साथै तालिम कक्ष, आवासीय व्यबस्था सहित उनीहरुको लागि बैठक स्थल समेत निर्माण हुने अध्यक्ष शेर्पाको भनाई छ ।
केन्द्रको निर्माणमा सहजीकरण अपाङ्गता जागरण मञ्चले गर्ने (सीबीआर) को खिजिदेम्बाका टिम लिडर प्रेम जीसीले जानकारी दिए । अपाङ्गता जागरण मञ्च ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गतको सीबीआर कार्यक्रमको पहल र खिजीदेम्बामा रहेका अपाङ्गता भएका व्यक्तिहरु संगठीत भइ बनेको अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था रहेको जिसीको भनाई छ ।
कोशेली घर अपाङ्गता भएका व्यक्तिहरुको पुनस्र्थापनाको लागी एउटा पूर्ण पुनस्र्थापनाको केन्द्रको रुपमा विकसित गर्दै लैजाने सोच र लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जन वृद्धि बढाउन व्यवसायिक सीप वृद्धि गर्दै लैजाने र उनीहरुले उत्पादन गरेका सामग्रीहरुको विक्री वितरण तथा बजारीकरणको व्यवस्थापनको जिम्मेवारी केन्द्रले लिने बताईएको छ ।
स्थानिय सरकारको अपाङ्गता पुनस्र्थापना सम्बन्धिका कामहरु यसै केन्द्र मार्फत संञ्चालन हुने (सीबीआर) को खिजिदेम्बाका टिम लिडर जीसीले बताए ।
केन्द्र मार्फत अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गर्ने स्यानिटरी प्याड, ढाकाबाट निर्माण भएका सामाग्रीहरु, बाँस तथा निगालोबाट बनेका सामग्रीहरु, अन्य उपहारका सामग्रीहरु र जसमा स्थानिय कला, संस्कृति र पहिचानलाई झल्काउने सामग्रीहरुको विक्रि वितरणका लागि राखिने बताईएको छ ।
प्रतिक्रिया