ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानमको प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा अझै फेला परेका छैनन् । करिब दश दिन अघि देखी अचानक वेपत्ता भएका प्रअ खतिवडा अहिले पनि सम्पर्क विहिन छन् ।
केही दिन अघि विराटनगरमा केहीले व्यक्तिले देखेको हल्ला चले पनि उक्त हल्ला मात्र भएको पारिवारिक श्रोतले जनाएको छ । प्रअ खतिवडाको घर परिवार, प्रहरी, जनप्रतिनिधि र विद्यालयले खोजी कार्य गरिरहे पनि हालसम्म उनको अवस्था अज्ञात रहेको विद्यालयका निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतले जानकारी दिए । विराटनगरमा केही व्यक्तिले उनलाई देखेको हल्ला आएको बारे त्यो अपुष्ट हल्ला मात्रै रहेको निमित्त प्रअ बस्नेतले बताए ।
विद्यालयको कामको सिलसिलामा प्रअ खतिवडा गत भदौ १६ गते राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लहानमा गएको र त्यस पश्चात् पारिवारिक भेटघाटमा काठमाण्डौं पुगेका थिए । २१ गते बिहान ओखलढुंगा विद्यालय जान्छु भनेर परिवार सँग विदा भई घर बाट हिडेका खतिवडा अचानक सम्पर्क विहिन भएका हुन् ।
विद्यालयले सोमबार एक सूचना जारी गर्दै उनलाई यथासक्य छिटो विद्यालयमा सम्पर्कमा आई हाजिर हुन आग्रह गरेको छ । साथै कसैले फेला पारेमा विद्यालय, वडाका जनप्रतिनिधि वा प्रहरीमा खबर गरिदिन आग्रह गरिएको छ ।
प्रतिक्रिया