ओखलढुंगाको प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–७ च्यानममा स्थित विद्यालयका प्रअ खतिवडा विगत १० दिन देखि सम्पर्कविहीन भएका हुन् ।
विद्यालयको कामको सिलसिलामा प्रअ खतिवडा भाद्र १६ गते राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लहानमा गएको र त्यस पश्चात् पारिवारिक भेटघाटमा काठमाण्डौं पुगेर भाद्र २१ गते बिहान ओखलढुंगा विद्यालय जान्छु भनेर परिवारसँग विदा भई निस्किएका थिए ।
त्यस पछि हालसम्म सम्पर्कविहीन रहेको विद्यालयका निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतले बताएका छन् । प्रअ खतिवडा १० देखि सम्पर्कविहीन भएपछि विद्यालयले सोमबार एक सूचना जारी गर्दै यथासक्य छिटो विद्यालयमा सम्पर्कमा आई हाजिर हुन आउन आग्रह गरेको छ ।
साथै कसैले फेला पारेमा विद्यालय, वडाका जनप्रतिनिधि वा प्रहरीमा खबर गरिदिन आग्रह समेत गरेको छ ।
प्रअ खतिवडाको खोजीका लागि परिवारले काठमाण्डौको टेकुमा निवेदन दिएको र प्रहरीले पनि खोजीकार्य गरिरहेको पारिवारिक स्रोतलाई उदृत गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताए ।
काठमाण्डौमा परिवारसँग छुटेपछि चावहिलसम्म आइपुगेकोबारे मोबाइल लोकेशनमा देखिएको र त्यसपछि प्रअ खतिवडा सम्पर्कविहीन रहेको विव्यस अध्यक्ष अधिकारीले बताए ।
प्रतिक्रिया