खोटाङमा अत्याधुनिक नमुना पेट्रोल पम्प सञ्चालन

खोटाङमा अत्याधुनिक नमुना पेट्रोल पम्प सञ्चालन



खोटाङमा अत्याधुनिक सुविधा सम्पन्न खोटाङ फ्युल सेन्टर सञ्चालन गरिएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङ–हलेसी–भोजपुर लगायतका पूर्व र काठमाण्डौ आवतजावत गर्ने सवारीलाई दृष्टिगत गर्दै अत्याधुनिक नमुना सुविधासम्पन्न फ्युल सेन्टर सञ्चालन गरिएको हो ।

करिब छ करोड लागतमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सञ्चालन गरिएको पेट्रोलपम्पको सोमबार नगरपालिकाका उप–मेयर विसन राईले उद्घाटन गरेका छन् । सहज सेवा प्रवाह सँगै व्यवसायिक सफलताको लागि सञ्चालकहरुलाई उपमेयर राईले शुभकामना दिए ।

अत्याधुनिक डिजिटल प्रविधिबाट सञ्चालित आयल स्टोर्सको ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल गरी ६० हजार लिटर भण्डारण क्षमता रहेको छ । पट्रोल नोजल चार वटा छन भने डिजल नोजल पनि चार वटा रहेका छन् ।

लामो दूरीका सवारीसाधन पार्किङ गर्ने, दुईतर्फबाट सवारीसाधन जान आउन सक्ने र एकै पटकमा चार वटा सवारीसाधनले ईन्धन भर्न सक्ने बनाइएको छ । अपांगतामैत्री उक्त पेट्राल पम्पमा, डिजिटल भुक्तानीको लागि क्युआरको सुविधा रहेको छ भने सीसी क्यामेरा पनि जडान गरिएको छ ।

२४ सै घण्टा सेवा प्रवाह हुने, विद्युत लाइन नभएको बेला पनि सेवा लिन सकिने सञ्चालकहरुले बताएका छन् । व्यवसायी रामेश्वर बराल, केशव थापा र सरोज कुमार श्रेष्ठले पम्प ल्याएका हुन् ।

इन्धन भर्ने बाहेक पम्पमा सुविधायुक्त शौचालय, महिला पुरुष अपाङतामैत्री शौचालय, कफी सप, एयर हाउस, ग्यारेज तथा क्युआर र एटिएमको सुविधा रहेको छ । एटिएम तत्काल जडान गरिएको छैन । एटिएम जडान गर्न बैंकसँग सहकार्य भईरहेको पम्पका सञ्चालक सरोज श्रेष्ठले बताए ।