ओखलढुंगाका ६ जना कर्मचारी उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मानीत भएका छन् । निजामती सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बिच कर्मचारी मिलन केन्द्रले उत्कृष्ट कार्यालय र कर्मचारीलाई सम्मान गर्नुको साथै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।
कार्यसम्पादनको आधारमा सम्मानित हुनेहरुमा ओखलढुंगा जिल्ला कारागारका कार्यालय सहयोगी ओमकुमार श्रेष्ठ, इलाका प्रशासन कार्यालय खिजीफलाटेका सह–लेखापाल छत्र कार्की, भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका धिरेन राई, डिभिजन वन कार्यलयका सन्तोष लम्साल, मानेभञ्ज्याङ गाउँपालिका प्रशासनका जयाता माया राई र मोलुङमा कार्यरत अनमी लक्ष्मी कार्की रहेका छन् ।
यस्तै कार्यालयको सेवालाई डिजिटल बनाएर सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाएकोमा नापी कार्यालय ओखलढुंगालाई उत्कृष्ट कार्यालयको रुपमा सम्मान गरिएको कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
उत्कृष्ट बनेका कर्मचारी र कार्यालयलाई कदर–पत्र प्रदान गरिएको छ भने दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
दिवसकै अवसरमा केन्द्रले जाल्पा माध्यमिक विद्यालय गैरिगाउँका २५ जना जेहेन्दार विद्यार्थीलाई विभिन्न शैक्षिक सामाग्री समेत सहयोग गरेको छ । ‘व्यवसायिक र सृजनशील प्रशासनः विकाश समृद्धी र सुशासन’ भन्ने नाराको साथमा शनिबार बिहान करदाता सेवा कार्यालय देखि सदरमुकामको बजार क्षेत्र परिक्रमा गर्दै ओखलढुंगा नगरपार्कसम्म प्रभातफेरी निकालिएको थियो ।
कार्यक्रममा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका महान्यायधिश धिर बहादुर चन्द, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकाल, सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकारलगायत सरोकारवालको सहभागीता रहेको थियो ।
प्रतिक्रिया