घटेन सवारी दुर्घटना १२ को मृत्यु, १९० घाइते

घटेन सवारी दुर्घटना १२ को मृत्यु, १९० घाइते



ओखलढुङ्गामा सवारी दुर्घटनामा १२ जनाको ज्यान गएको छ । १९० जना घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाको दुई आर्थिक वर्षको तथ्यांक अनुसार सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ भने १९० जना घाईते भएका हुन् ।
आर्थिक बर्ष २०७९/०८० मा २६ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा चार पुरुष र एक महिला गरि पाँच जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा १७ जना गम्भीर घाइते र ४६ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटना संख्या बढेको छ । यस आर्थिक वर्षमा जिल्लाको विभिन्न ४८ स्थानमा सवारी दुर्घटना भएका छन् । छ पुरुष र एक महिला सहित सात जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । १९ जना गम्भीर भाईते र ७६ जना यात्रु सामान्य घाईते भएका छन् ।
एक करोड एक लाख ८१ हजार बराबरको धनमाल सवारी दुर्घटना बाट क्षती भएको छ । ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रम गरे पनि सवारी दुर्घटनामा कमी आएको छैन । आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ४६३ सवारी कारबाहीमा परेका छन् । सवारी कारबाही बाट ४६ लाख ९५ हजार ५०० राजश्व भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक, सवारी साथै मानविय कारणले अधिकांश सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले बताए । यसका साथै सडकको दुरावस्था, बेलैमा मर्मतका गर्नेबारे सरोकारवाला निकायको उदासिनता, मौसमी प्रतिकुलता र ट्राफिक नियमको पालनामा चालक सहित सरोकारवाला गम्भीर नहुँदा जिल्लामा दुर्घटना बढेको प्रहरी नायब उपरिक्षक खड्काको भनाई छ ।