ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले ४६ जना सगरमाथा आरोहीलाई सम्मान गरेको छ । खिजीदेम्बा भित्रका सबै सफल सगरमाथा आरोहीलाई पालिकाले काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
सन् २००१ मा खिजीदेम्बा ९ का दोर्जी शेर्पाले ओखलढुंगा जिल्लाबाटै पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता खिजीदेम्बाबाट मात्रै हालसम्म ४६ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । खिजीदेम्बाकै जाङ्बु शेर्पाले २२ औं पटक सम्म सगरमाथा चढिसकेका छन् ।
सबै आरोहीलाई एउटै समारोह मार्फत पालिकाले पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डेको हातबाट सम्मान गरेको छ ।
‘स्वावलम्बी, कीर्तिमानी र कर्मशिलहरुलाई खिजीदेम्बाको साथः सहासिक पदयात्रा मार्फत पर्यटन प्रबर्द्वनमा मिलाऔं हातमा हात’ भन्ने उद्घोष सहित सोही कार्यक्रमकै अवसरमा आरोही कुंगा शेर्पालाई खिजीदेम्बाको पर्यटन सद्भावनादूत घोषणा गरिएको छ । ७ पटक सगरमाथा आरोहण गरेर पालिकाको लोगो समेत सगरमाथामा फहराएका आरोही शेर्पालाई ३ वर्षका लागि सद्भावनादूत बनाइएको हो ।
पालिकाको पर्यटन प्रवद्र्धन र आरोहीहरुको मनोवल उच्च बनाउन सम्मानसहित सद्भावनादूत घोषणा गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । खिजीदेम्बा पर्यटनको प्रचुरसम्भावना भएको पालिका रहेको र यहाँका अधिकांश शेर्पा समुदायका नागरिक पर्यटन व्यवसायमा संलग्न रहेकाले स्थानीय सरकारले अभिभावकत्व प्रदान गरेको अध्यक्ष शेर्पाको भनाई छ ।
राज्यको तर्फबाट अपेक्षीत सहयोग नपाएको अवस्थामा पहिलो पटक आफ्नो गाउँपालिकाले सम्मान गरेर हौसला दिएको आरोहीहरुले बताएका छन् । पालिकाको सम्मान ग्रहणगर्न पाउँदा पहिलोपटक सगरमाथा आरोहण गर्दा जतिकै खुसी मिलेको ओखलढुंगाकै पहिलो महिला सगरमाथा आरोही मायाँ शेर्पाले बताइन् ।
आरोही र पर्यटन व्यवसायीले पर्यटनका क्षेत्रमा सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदिप सुनुवारले ओखलढुंगाको पर्यटन विकासका लागि पहल गरिरहेको बताएका थिए । खिजीदेम्बाले आरोहीको सम्मान र पर्यटन सद्भावनादूत घोषणा गरेर रचनात्मक काम गरेको भन्दै नेताहरुले पालिकाको प्रशंसा समेत गरेका छन् ।
खिजीदेम्बाका सगरमाथा आरोहीलाई सम्मान गर्दै पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन विकासलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । खिजीचण्डेश्वर एयरपोर्ट सञ्चालन देखि ओखलढुंगाको पर्यटन विकासका लागि योजना ल्याउन आग्रह गर्दै मन्त्री पाण्डेले पर्वतारोहीको योगदानलाई संस्थागत गर्न सरकारले योजना बनाउने प्रतिवद्धता जनाए ।
ओखलढुंगाको दुर्गम गाउँ खिजीदेम्बा पर्यटनको प्रचुरसम्भावना भएको पालिका हो । नेपालका घुम्न लायक सय गन्तव्य सूचिमा पर्ने थोलेदेम्बासहितका दर्जनौं पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा पालिका जुटेको छ ।
प्रतिक्रिया